किन नियन्त्रण हुँदैन काठ तस्करी ?
इलामस्थित चुरे क्षेत्रमा रहेको वनको काठ तस्करी रोक्न वन कार्यालयबाट ठूलै टोली खटिएको छ । तर, तस्करी रोकिएको छैन । पटक–पटक काठ बरामद भएको इलामको माई नगरपालिकास्थित सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालयका प्रमुख रितेशभूषण बस्नेतले बताए । ‘काठ बरामद भइरहन्छ, बढीचाहिँ चुलचुलीबाट बरामद हुन्छ,’ उनले भने, ‘ठूलो टोली चुलाचुलीतिरै खटाइएको छ ।’ ट्र्याक्टर, पिकअप, ट्रक, मोटरसाइकल, साइकल र बसमा समेत तस्करी हुने गरेको उनले बताए । तस्करीमा संलग्न समूह वर्षाको समय पारेर बढी सक्रिय हुने गर्छ । आजको नयाँपत्रिकामा खबर छ ।
दिउँसो नयाँ पत्रिकाकर्मी सुखानीमा रहेको दक्षिणी सेक्टर वन कार्यालय पुग्दा दिउँसो दुईजना मात्र कर्मचारी थिए । बाँकी सबै गस्तीमा गएको प्रमुख बस्नेतले बताए । गस्ती टोलीले काठ तथा काठ ओसार्न प्रयोग गरिएका सवारीसाधन बरामद गरिरहन्छ । बरामद गरिएका सामग्री राख्ने ठाउँको कमी हुन थालेको उनले बताए ।
‘मान्छे पनि पक्राउ पर्छन्, उनीहरूविरुद्ध हामी वन मुद्दा चलाइरहेका हुन्छौँ,’ कार्यालयका प्रमुख बस्नेतले भने, ‘काठको बिगो हेरेर कुनै मुद्दा जिल्ला अदालतमा र कुनै जिल्ला वनमा जान्छ ।’ मान्छेसहित समातेको काठ अदालतका लागि प्रमाण जुटाउन कार्यालयमै राखिएको हुन्छ । ती काठ लिलाम नहुँदा कार्यालयमै सड्ने अवस्था छ ।
राति बढी तस्करी
काठ तस्करी रातिको समयमा बढी हुने गरेको कार्यालयले जनाएको छ । सुखानीस्थित दक्षिणी सेक्टर वन कार्यालयमा हाल ६ जना सहायक वन रक्षक, एक वन रक्षक, दुई अधिकृत र एकजना सुब्बा छन् । चुलाचुलीमा रहेको कार्यालयमा भने ११ सहायक वन रक्षक, एकजना फरेस्टर, दुई वन रक्षक र एकजना अधिकृत छन् ।
बस्नेतले भने, ‘चुलाचुली र रतुवातिर ९, १० मा पढ्ने केटाहरू साइकल लिएर तस्करी गर्न आउँछन्, कार्यालयबाट खटिएको गस्ती टोलीले काठ काट्दाकाट्दै, ओसार्दाओसार्दै पनि समातेको छ ।’ ट्र्याक्टरमा हालेर माथिबाट ढुंगा र केराले छोपेर तस्करी भएको पनि पाएको उनले सुनाए ।