सर्वोच्चको आदेशपछि अनसन स्थलबाटै डा. गोविन्द केसी पक्राउ

प्रहरीले आमरण अनसनमा रहेका डा. गोविन्द केसीलाई पक्राउ गरेको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ । सर्वोच्च अदालतको मानहानीको आरोपमा त्रिवि शिक्षण अस्पतालबाट पक्राउ परेका प्राध्यापक डाक्टर गोबिन्द केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको हाे । केसीलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर सिंहदरबार पुर्याइएको थियो ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले सोमबार ४ बजेबाट १४ औं आमरण अनसन थालेका थिए । आफ्नो अनसनका क्रममा चार वर्षअघि बर्खास्त भएका डा. शशी शर्मालाई चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा पुनर्वहाली गर्न आदेश दिएपछि डा. केसी आक्रोसित भएका थिए । अनसन सुरु गर्नुअघि पत्रकार सम्मेलन गरेर उनले अदालतमा न्यायको किनबेच हुने गरेको मात्र दाबी गरेनन्, प्रधानन्यायाधीश पराजुलीलाई माफियाको डनको संज्ञा दिए ।

तर, त्यसको केहीबेरमै डा. केसीविरुद्ध अदालतको मानहानीको मुद्दा मात्र परेन, पक्राउ गरेर अदालतमा उपस्थित गराउन आदेश आयो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई पक्राउ गरी भोलि विहान ९ बजे उपस्थित गराउन आदेश दियो । अदालतको आदेश आएको तीन घन्टापछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डा. केसीलाई अनसन स्थलबाटै उठाएको हो ।

प्रहरीले पक्राउ पूर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेका डा. केसी ‘अदालतको फैसलालाई नमान्ने तर, कानुनी प्रक्रियालाई सम्मान गर्ने’ भन्दै प्रहरी टोलीसँगै जान तयार भए । डा. केसीलाई पक्राउ गर्न एसपी रामदत्त जोशी नेतृत्वको टोली पुगेको थियो । उनलाई अहिले सिंहदरबार बृत्तमा राखिएको छ । पक्राउ गर्नु पूर्व डा. केसीले प्रहरीले जहाँ लैजान्छ, त्यही अनसन बस्ने बताएका थिए ।