किन बाध्य बनाईन्छ छाउगोठमा बस्न किशोरीहरुलाई ?

शिक्षक नै छाउपढीको अन्धबिश्वासमा

धर्म, कर्म सम्बन्धि कुनै पनि जानकारी राख्न नसक्ने अबस्थाकि किशोरीहरुलाई छाउगोठमा बस्न बाध्य पारिदै आएको छ । कुनै धार्मिक बिश्वास राखेर वा जीवनमा आएको परिवर्तन प्रति रमाएर भन्दा पनि आमा–बाबुले लगाएको करले गर्दा किशोरीहरु छाउगोठमा बस्न बाध्य पारीएका छन् । जिल्लाको जुनीचाँदे गाउँपालिका वडानं.–४ लुहादह छाउगोठमा बस्न किशोरीहरुलाई बाध्य पारीने गाउँ हो । तीन नगरपालीका, चार गाउँपालिका र ७७ वडापालिका भएको जिल्लाभरि कहि कतै नभएको प्रचलन जुनीचाँदे गाउँपालिका वडानं.–४ को लुहादहमा रहेको छ ।

महिनावारी भएका किशोरीहरुलाई छाउगोठमा बस्न बाध्य पारिने गरिएको छ । साँस्कृतिक तथा धार्मिक आस्था देखाएर मानसिक तथा शारिरीक रुपमा अपरिपक्क यस गाउँका किशोरीहरुलाई छाउगोठमा बसाल्ने गरिएको छ । लुहादहकी पार्वती खड्का महिनावारी भएपछि ७ दिन छाउगोठमा विताउछिन् । गर्मी, जाडो, हिउ, बर्षा जे भएपनि महिनावारी भएको ७ दिन सम्म छाउगोठमा विताएर ८ औं दिनमा घरभित्र प्रवेश गर्ने गर्दछिन् । आदर्श माध्यामिक विद्यालय, लुहाँदह कक्षा–११ मा अध्ययनरत पार्वतीले छाउपढी प्रथाकाबारेमा आफुलाई कुनै जानकारी नभएको वताईन् । ‘पहिलो पटक महिनावारी हुदा छाउगोठमा बस्नु पर्ने आमाले सल्लाह दिएपछि पत्येक पटक महिनावारी हुदा ७ दिन छाउगोठमै बस्दै आएकि छु ।’ पार्वतीले भनिन्–‘म पहिलो पटक महिनावारी हुदा बर्खाको समय थियो, छाउगोठमा बसिरहेको वेला राती सर्प आएर टोक्छ कि भनेर निकै डराएकि थिए ।’

कक्षा–९ मा अध्ययनरत गीता खड्कालाई महिनावारी भनेकै के हो भन्ने थाहा पाउन नसक्ने अबस्थामै छाउगोठमा बस्नु पर्ने अबस्था आयो । ‘महिनावारी भनको के हो भन्ने मलाई केहि पनि थाहा थिएन ।’ गीताले भनिन्–‘पढ्न भनेर स्कुल गएकि थिए, स्कुलमै पेट दुख्न सुरु भयो, पेट मिच्दै मुस्किलले घर आई पुगे, घरमा आउदा आमाले भनिन् यो त महिनावारी भएकि रहेछ, आज देखि ७ दिन सम्म छाउगोठमा गएर बस आमाले भनेपछि करै लाग्यो मलाई छाउगोठमा बस्न ।’

‘मानसिक रुपमा महिनावारी हुने उमेरमा पुगिसके जस्तो नलागेरै मेरो महिनावारी सुरु भएको हो ।’ गीताले भनिन्–‘केहि थाहा नपाउने अबस्थामै पहिलो पटक महिनावारी भएर छाउगोठमा बसि रहेकि थिए, मनमा अनेक थरिका कुराहरु खेलि रहेका थिए, रातिको समय छ, छाउगोठमा एक्लै बसिरहेकि छु, ढोका अढ्याएर सुत्न मिल्ने ठाउँ पनि छैन, कतै भुतप्रेत आएर मलाई आक्रमण गर्छ कि ?, मलाई कुनै पुरुष आएर बलत्कार पो गर्ने हो कि ?, यदि त्यसो भयो भने म के गरौला भनेर रात भरि चिन्ता लागि रहयो, नसुतेरै रात बिताएकि थिए ।’

यस्तो बाध्यता पार्वती र गीताले मात्र नभएर २ सय भन्दा बढी घरधुरी भएका त्यसगाउँका सबै किशोरीहरुले भोग्दै आई रहेका छन् । २१ औं शताव्दीको यस युगमा पनि आदीम कालको जस्तै त्यसगाउँका नागरिकहरुमा सामाजिक तथा धार्मिक अन्धविश्वासले सामाजिक रुपमा उन्मुलन गरिएको छाउपढी प्रथा झनै मौलाउदै गएको छ । महिनावारी भएपछि ७ दिन सम्म र सुत्केरी भएपछि १० दिन सम्म सवै महिलाहरु छाउगोठमा बस्नुपर्ने प्रचलन छ । महिनाबारी भएकोले ७ दिन सम्म र सुत्केरी भएकोले २५ दिन सम्म अरूलाई छुन नमिल्ने, घरको जग र भित्ता समेत छुन नपाईने परमपरा रहेको छ ।

छाउगोठवाटै कयौं किशोरीहरले बलत्कृत हुनु पर्ने, रोजगारीका लागि बिदेश गएकाहरुकी स्वास्नी छाउगोठवाटै अर्कैसंग बिबाह गर्ने वा अदालतमा जबरजस्ती करणीको मुद्धा खेल्नु पर्ने जस्ता थुप्रै घटनाहरु हुने गरेको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले वताए । छाउगोठमा बस्नु पर्ने अबस्थाले लजाएर किशोरीहरु विद्यालय नजाने, बिचमै पढाई छोड्न बाध्य हुनु पर्ने अबस्था रहेको अध्यक्ष केसीले जानकारी दिए । छाउगोठको चिसोले सुत्केरी महिला तथा नवजात शिशुहरुलाई निमुनिया हुनुका साथै कतिपयको ज्यानै जान सक्ने अबस्था पनि आउने गरेको अध्यक्ष केसीले वताए ।

किन बार्छन त्यहाँका महिलाले छाउ ?

खड्का समुदायको बाहुल्यता रहेको दुहादहमा आज भन्दा तीन पुस्ता पहिलेका धैलोबहादुर खड्का र हरिभक्त खड्काले खड्काहरुको कुल देवता (ढडार) लाई ल्याउन भनि अछाम पुगेको सिहंबहादुर खड्काले जानकारी दिए । अछामका महिलाहरुले ब्यापक रुपमा छाउबारेको देखेपछि कुल देवता ल्याएर गाउँ पर्किएका धैलोबहादुर खड्का र हरिभक्त खड्काले दुहादहमा पनि छाउबार्नु पर्ने वताए पछि यस्तो चलनको सुरु गरिएको सिहंबहादुरको भनाई रहेको छ ।

सरकारले छाउपढी प्रथा अन्त्य गर्न कानुन बनाएको भएता पनि त्यसगाउँमा अझै पनि छाउनबार्ने महिला तथा परिवारप्रति कुलदेवता रिसाउने र घरमा अशुभ हुने अन्धबिश्वास राख्ने गरिएको छ । त्यसैगाउँमा यो भन्दा अघिल्लो पुस्ताका दुई जना महिलाले छाउँगोठमै सुतिरहेको अबस्थामा जाडोले ज्यान गुमाउनु पर्यो । त्यसैगाउँका थुप्रै महिलाहरु विगत जनयुद्धमा पनि होमिए, थुप्रै जोखिमता र चुनौतिहरु उठाउन तयार भए तर, छाउपढी प्रथाको अन्त्य गर्न त्यहाँका महिलाहरु कहिले पनि तयार भएनन् ।

शिक्षक नै छाउपढीको अन्धबिश्वासमा 

विद्यार्थीहरुलाई ज्ञान, विज्ञान सम्बन्धिको शिक्षा दिई रहेका बिद्यालयका शिक्षकहरु पनि छाउपढीको अन्धविश्वासमा रहेका छन् । विद्यालयमा पढ्न आएका किशोरीहरु महिनावारी हुदा छाउबार्नु पर्ने मान्यता शिक्षकहरुले पनि राख्दै आएका छन् ।

महिनावारी भएका छात्राहरुले छाउ नबारेमा दुहादहको देवताले छात्राहरुलाई बेहोस बनाउने गर्दछ भन्ने कुरामा शिक्षकहरुले नै विश्वास राख्दै आएका छन् । २०७३ सालको एसएलसी परिक्षा दिन भैरव माध्यामिक विद्यालय, मजकोट देखि आदर्श माध्यामिक विद्यालय लुहादह पुगेकी एक छात्राले छाउ नबार्दा परिक्षा दिदा दिदै बेहोस भएर पल्टिएको आदर्श मावि लुहादहका प्रधानाध्यापक गणेशबहादुर खड्का वताउछन् । छाउपढी प्रथा र बाल बिबाह अन्तय गर्नु पर्ने विद्यालय पढ्न आएका विद्यार्थीहरुलाई शिक्ष दिने तथा छलफल चलाउने गरेको भएता पनि ति सबै प्रयासहरु असफल भएको आदर्श मावि लुहादहका शिक्षक नेपालीदास चौधरीको भनाई रहेको छ ।

छाउपढी अन्त्यका लागि गरिएका प्रयास’

वेला–वेलामा विभिन्न प्रयासहरु गरिएको भएता पनि प्रथाको अन्त्य हुन सकिरहेको छैन । प्रथालाई अन्त्य गर्न धार्मिक अन्धविश्वासलाई हटाउन २०७१ सालमा जुम्लाको सिजावाट देवताका धामीलाई बोलाएर छलफल गरिएको थियो । धामीले गरेको उक्त छलफलले पनि सार्थकता पाउन सकेन् । त्यसैगरि महिलाहरुमा सचेतना पैदा गर्न २०७२ सालमा त्यस गाउँमा आमा समुह गठन गरिएको छ तर, प्रथा अन्त्यका लागि आमा समुहले पनि जागरण पैदा गर्न सकिरहेको छैन । हालै सम्पन्न गाउँ सभाले प्रथा उन्मुलन सम्बन्धिको सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भनेर बजेट विनियोजन गरेको जुनीचाँदे गाउँपालिकाले जनाएको छ ।

प्रथा अन्त्य गर्न पाठ्यक्रमको आबश्यक

‘अन्धविश्वासमा रहेर सामाजिक सँस्कार बनाईएको छाउपढी प्रथावाट समाजलाई कुनै फाईदा हुदैन, समाजवाटै यस प्रथालाई अन्त्य गर्नु पर्दछ ।’ सामाजिक अभियान्ता डम्मरबहादुर रोकायले भने–‘ग्रामीण क्षेत्रमा कानुनी सत्ता भन्दा पनि सँस्कारको सत्ता निकै बलियो भएर बसेको त छ, तै पनि समाज रुपान्तरण र परिवर्तका लागि कुनै पनि तरिकाले यस प्रथाको अन्त्य गर्नु पर्दछ ।’

प्रथा अन्त्य गर्नका लागि पुरानो पुस्तावाट सम्भव नभएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले वताए । नयाँ पुस्ताका लागि पनि प्रजनन् स्वास्थ्य सम्बन्धि स्थानिय पाठ्यक्रम निर्माण गरि विद्यालय स्तरमा किशोर–किशोरी मैत्री शिक्षा सञ्चालन गरेपछि मात्र प्रथा अन्त्यका लागि सम्भव हुने जिशिअ सिंहको भनाई रहेको छ । मनोविज्ञान र आत्माविश्वाससंग जोडिएको छाउ प्रथालाई अन्त्य गर्नका लागि नयाँ पुस्ताका युवा–युवतीहरुमा नविनतम चेतना जागृत हुनु पर्ने जिशिअ सिंहको बुझाई रहेको छ ।