६ नम्बर प्रदेशको राजधानी माग्दै जुम्लामा गरियो राँके जुलुस
प्रदेश नम्बर ६ को राजधानी कर्णालीमा नै हुनुपर्ने माग राख्दै जुम्लामा शुक्रबार बेलुका साढे ५ बजे राँके जुलुस गरिएको छ। नागरिक संघर्ष समिति जुम्लाले राँके जुलुस गरेको हो। जुम्ला टुँडिखेलबाट सुरु भएको राँके जुलुस बालमन्दिर, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय हुँदै उच्च अदालत जुम्लाअघि रोकिएको थियो। सयौं जनाको राँके जुलुसमा ६ नं. प्रदेशको राजधानी कर्णाली तोक, सामर्थ्य, पिछडिएको क्षेत्र कायम गर, भूगोलको अपमान गर्न पाइदैन भन्ने नारा लगाएका थिए।
राँके जुलुसमा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य बलिराज शाहीले राज्यले कर्णालीलाई अपमान गर्दै आएको र देश संघीयतामा जाँदा पनि कर्णालीले न्याय नपाएकोले राज्य विरुद्ध आन्दोलनमा उत्रिएको बताए। ‘कर्णालीलाई फेरि पनि हेँला गरेर राज्यले घृणा गर्छ भने आन्दोलनबाट त्यसको मुकाबिला गर्छौं’, उनले भने। वि.सं.१८४६ देखि कर्णालीलाई माथि उठ्न नदिएको उनको आरोप छ।
नागरिक समाज जुम्ला संयोजक राजबहादुर महतले राजधानी लिएर पुच्छरमा घोषणा गर्ने षड्यन्त्र भएकोले त्यसको विरुद्ध आन्दोलनमा उत्रिएको बताए। ‘जबसम्म सरकारले हामीले राखेका मागको सम्बोधन गर्दैन, तबसम्म आन्दोलन जारी राख्छौं’, उनले भने। सुर्खेतमा राजधानी दियो भनेर चुप नलाग्ने, यदि पेलेर लिन खोजे सर्वोच्च अदालतमा मुद्दा हाल्ने उनले बताए।
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले सामर्थ्य र पहिचानको आधारलाई बहसमा ल्याएर राजधानी कहाँ हुने भन्ने निष्कर्ष निकाल्नुपर्ने बताए। विशाल खस राज्यको राजधानी जुम्ला सिंजा भएकोले त्यसलाई सम्बोधन हुनेगरी राजधानी कर्णालीमा भएमात्र कर्णालीबासीलाई न्याय हुने उनको भनाइ छ। स्थानीय युवक अनुप थापाले राज्यको कर्णालीप्रति हेर्ने नजर नकारात्मक भएको आरोप लगाए। उनले कर्णालीलाई राज्यले त्यसै अधिकार नदिने र त्यसका लागि कर्णालीले आन्दोलनबाट आफ्नो अधिकार पाउने बताएका थिए।