फेरि आन्तरिक झगडामा फस्यो एमाले

माओवादी केन्द्रसँग पार्टी एकता र नयाँ सरकार गठनको तयारी भइरहेका बेला वाम गठबन्धनको प्रमुख घटक नेकपा एमालेमा आन्तरिक संघर्ष सुरु भएको छ । पार्टी एकताका लागि निर्णायक संवाद प्रक्रिया चलिरहँदा एमालेभित्र गुटगत राजनीति चर्किएको हो। एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षका दोस्रो तहका नेताहरु पार्टी नेतृत्व हस्तान्तरणको विषयलाई लिएर आरोप-प्रत्यारोपमै उत्रेका छन्।

चुनाव लगत्तै काठमाडौंमा आयोजित कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले पार्टी एकतासँगै दुवै पार्टीका शीर्ष नेताले राजनीतिबाट सन्न्यास लिएर युवा पुस्तालाई मौका दिनुपर्ने बताएका थिए। भट्टराईले नेतृत्व हस्तान्तरणको बहस सिर्जना गरेसँगै अध्यक्ष ओली पक्षका नेताहरु भट्टराई विरुद्ध खनिएका छन्।

लगत्तै भट्टराईको सो अभिव्यक्तिप्रति लक्षित गर्दै ओली निकट नेता विष्णु रिमालले ‘साथीहरुको माक–फुइँले सगरमाथा चढेको’ टिप्पणी गरेका थिए। ओलीले सम्बोधन नगरेसम्म चुनाव जित्ने आँट नभएकाहरुले अहिले ‘बाँदर उफ्राइ’ देखाएको भन्दै रिमालले ट्विटरमा कटाइ गरेका थिए।

यता, एमाले सचिव भट्टराईले पार्टी अध्यक्षलाई केही नेताले अनावश्यक विषयमा उचाल्ने प्रयत्न गरिहेको आरोप लगाए। पार्टीभित्रको आन्तरिक गुट संघर्ष चर्किएसँगै बुधबार दिउँसो राजधानीमा सञ्चारकर्मीसँग भट्टराईले अध्यक्षसँग आफ्नो सम्बन्ध बिगार्ने र अनावश्यक विवाद सिर्जना गरेर पार्टी अध्यक्षको नजिक बन्ने प्रयत्न भएको टिप्पणी गरे। भट्टराई पार्टीभित्र नेता नेपाल पक्षीय नेता मानिन्छन्।

चुनावी सभाको बेला ताप्लेजुङमा पुगेर एमाले अध्यक्ष ओलीले भट्टराईलाई सांसद बनाएर पठाए आफूले मन्त्री बनाएर पठाइदिने आश्वासन दिएका थिए। सोही विषयलाई लिएर ओली पक्षीका नेताले भट्टराईलाई पार्टी अध्यक्ष विरोधी देखाउन विभिन्न अभिव्यक्ति दिइरहेको पार्टी स्रोत बताउँछ।