प्रदेश राजधानीको विवादले ठाउँ-ठाउँमा दन्कियो आगो

सरकारले प्रदेश राजधानीबारे औपचारिक निर्णय नगर्दै बुधबारदेखि मुख्य सहरमा आन्दोलन सुरु भएको छ। मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार पारेको प्रस्ताव सार्वजनिक भएलगत्तै असन्तोषको ज्वाला दन्किन थालेको हो।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर घोषणा गर्ने प्रस्ताव तयार भएको सूचना सार्वजनिक भएलगत्तै धनकुटामा बुधबार आमहडताल घोषणा गरिएको छ। धरानमा रिले अनशन जारी छ, इटहरीले पनि दाबी छाडिसकेको छैन। सहरी विकास मन्त्रालयले प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई प्रस्ताव गरेलगत्तै यसअघिको सुदूरपश्चिम विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल-सिलगढी पनि बन्द छ। त्यहाँका आक्रोशित आन्दोलनकारीले बन्दमा चलाएको भन्दै एउटा मोटरसाइकल जलाइदिएका छन्।

प्रदेश ५ को अस्थायी राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीको बुटवलमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ। सरकारले प्रदेश २ को राजधानी जनकपुर तोक्ने तयारी गरे पनि उक्त प्रदेशको एक मात्र महानगर र देशकै आर्थिक केन्द्र भनी छवि बनाएको वीरगन्जले सहजै स्विकार्ने देखिँदैन। प्रदेश ४ को राजधानी पोखरा र ६ को सुर्खेतमा खासै विरोधको स्वर सुनिएको छैन। यी दुवै निर्विकल्प प्रदेश राजधानी हुनेछन्। त्यस्तै, प्रदेश ३ को अस्थायी राजधानी भक्तपुर बनाउने सरकारको तयारी छ।