नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी

प्रहरी परिसरले पूर्वडीआईजी तथा प्रतिनिधि सभाबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरिएको काठमाडौं प्रहरीले बताएकाे छ ।

परिसरले सांसद समेत रहेका सिलवाललाई पक्राउ गर्न ललितपुर प्रहरीलाई पत्राचार गरेको छ । आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्च अदालत गरेका नेपाल प्रहरीका तत्कालीन डीआईजी सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन कीर्ते भएको ठहर गर्दै सर्वोच्चले अनुसन्धान गरी दोषीलाई कारबाही गर्न भनेको थियो ।

सर्वोच्चको फैसलाको पूर्णपाठ आए लगतै काठमाडौं प्रहरी परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भयो । तर, सर्वोच्चमा मुद्दा हारेपछि एमाले प्रवेश गरेका सिलवाल भने ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।

मलेसियाबाट भन्छन : म फरार छैन, भाग्ने मानिस होइन !

स्रोतका अनुसार प्रहरीले पक्राउ नै गर्ने भएपछि सिलवाल राजधानीबाट बाहिरिएका छन् । मंगलबार दिउँसो नै सिलवाल बाहिरिएको बताइएको छ । उनी निकट प्रहरी सुत्रले दिउँसो नै जानकारी दिएपछि पक्राउ हुनबाट बच्न सिलवाल भागेका हुन् ।

पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन्। सिलवाल विरुद्ध गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो।

सिलवालले पूर्व निर्धारित कार्यक्रममका लागि मेलेसिया पुगेको भन्दै ‘फरार’ नभएको जानकारी दिएका छन्।  डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरुलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवाल विरुद्ध जाहेरी दर्ता भएको थियो।

सिलवाल विरुद्धको किर्ते मुद्दाको सम्बन्धमा पुस ३ गते सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधिवक्ता बसन्तराज भण्डारी र प्रहरी महानिरीक्षक प्रकाश अर्यालबीच छलफल भएको थियो। छलफलपछि पुस ५ मा जाहेरी दर्ता भएको थियो।