चीनमा यसरी देखिए ‘नेपाली बाबु मेड इन नेपाल’

सछुवान (चीन), १४ पुस, चीनको नान्छोङ शहरस्थित चाइना वेष्ट नर्मल युनिभरसिटीमा नेपाली विद्यार्थीहरुले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रममा चिनिया तथा विदेशी विद्यार्थीहरुले उत्साहपूर्ण सहभागिता जनाएका छन् । नव वर्ष सन् २०१८ को स्वागतार्थ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सो विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले नेपाली लोकगीत तथा लोकनृत्यसहित विविध सांस्कृतिक कार्यक्रममा सहभागिता जनाएका हुन् ।

सो अवसरमा प्रस्तुत गरिएको ‘म हुँ नेपाली बाबु मेड इन नेपाल’ बोलको गीतमा नृत्य प्रस्तुत गर्न दौरा, सुरुवाल, भादगाउँले टोपी र स्टकोटमा सजिएका हुम्ली विद्यार्थी धनन्जय बुढा स्टेजमा आउँदा दर्शकहरुले जोडदार ताली बजाएका थिए । नृत्य प्रस्तुत गर्दा विश्व विद्यालयका नेतागण, शिक्षक तथा विद्यार्थीहरु रौसिदै वाह वाह भन्दै प्रशंसा गरे । त्यतिमात्र नभएर नृत्यको अन्त्यमा चन्द्र सूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराउँदा दर्शकहरुले सम्मान व्यक्त गरे ।

नेपाली विद्यार्थी निर्मला तिम्सिनाले प्रस्तुत गरेको ‘यो हो मेरो प्राण भन्दा प्यारो माईती घर’ बोलको गीतको नृत्यमा पनि चिनिया तथा अन्य विदेशी विद्यार्थीहरु हौसिएका थिए । प्रशन्न ढुंगेल र सुवास विश्वकर्माले गाएको र्याप गीतमा विदेशी विद्यार्थीहरु नृत्य गर्न स्टेजमै पुगेका थिए । सांस्कृतिक कार्यक्रममा अफ्रिकी तथा लाओसी विद्यार्थीहरुले विभिन्न गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रमको शुभारम्भमा नेपाली विद्यार्थी कुबेर नेपालले चिनिया भाषामा नव वर्ष सन् २०१८ को शुभकामना व्यक्त गर्दै सम्पूर्ण विद्यार्थी तथा शिक्षकहरुमा सुख, शान्ति, सुस्वास्थ्य र शैक्षिक सफलताको कामना गरेका थिए ।

सो कार्यक्रममा चाईना वेष्ट नर्मल युनिभरसिटीका डिन स लिउसानका साथै शिक्षकहरु छिउ स्या, चाङ पिङ पिङ, यि स्याओ मिन, हान च्या सिउ, छाई चि लिन, थाङ यु होङको सहभागिता रहेको थियो । चीनको सछुवान प्रान्तको नान्छोङ शहरमा सन् १९४६ मा स्थापना भएको सो विश्व विद्यालय पश्चिम चीनकै सबैभन्दा ठूलो र लोकप्रिय विश्व विद्यालय मध्येको एक मानिन्छ ।