किन पुगे पूर्वराजा ज्ञानेन्द्र स-परिवार नेपालगन्ज ?

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बाँकेको नेपालगन्ज पुगेका छन् । बिहीबार अपराह्न नेपालगन्ज पुगेका पूर्वराजालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।उनको स्वागतका लागि नेपालगन्ज विमानस्थलबाहिर ठूलो संख्यामा समर्थक पनि भेला भएका थिए ।

उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’, ‘राजा आऊ, देश बचाऊ’जस्ता नारा लगाएका थिए । पूर्वराजपरिवार एक हप्ताभन्दा बढी समय नेपालगन्जमा बस्ने कार्यक्रम रहेको जनाइएको छ । पूर्वराजा ज्ञानेन्द्रले नेपालगन्जमा निर्मित चारतारे होटल सोल्टीको उद्घाटन गर्ने कार्यक्रमसमेत रहेको छ । उनले विभिन्न धार्मिक तथा ऐतिहासिक मठ–मन्दिरहरुको दर्शन पनि गर्ने बताइएको छ ।

हालै मात्र सञ्चालनमा आएको सोल्टी शिवविक्रम होटल एण्ड रिसोर्टलाई पूर्व राजाले नयाँ वर्षको अवसरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ। अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा ७० करोड रुपैयाँको लागतमा एक वर्ष लगाएर निर्माण भएको सोल्टी होटलको शाखा उद्घाटन पूर्व राजा ज्ञानेन्द्र शाहले गर्ने कार्यक्रम रहेको बताइएको छ। पूर्व राजपरिवारको लगानी रहेको भनिएको ८१ कोठे यो चारतारे होटल तीन वर्षअघिदेखि निर्माण सुरु भएर भर्खर मात्रै सञ्चालमा आएको छ।

उनले भ्रमण अवधिमा आफ्ना समर्थकसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। पूर्व राजा शाहको स्वागतका लागि गठित मध्य र सुदूरपश्चिम स्वागत मूल समारोह समितिका संयोजक दीपकबहादुर सिंहका अनुसार दुई हप्ते बसाइमा उनले मध्य र सुदूरपश्चिमका विभिन्न धार्मिक शक्तिपिठहरूको दर्शन गर्ने कार्यक्रम छ। दुई दिनअघिदेखि नै होटल सोल्टीलाई सुरक्षा संवेदनशीलताका साथ सुरक्षा निकायले निगरानीमा राखेको छ। शाह निकट स्रोतका अनुसार शुक्रबार बिहान वागेश्वरी माताको दर्शन गर्ने कार्यतालिका रहेको छ।