नेपाल र चिन पर्यटन प्रवद्र्धनका लागि पहिलो अन्तराष्ट्रिय फोटोग्राफी प्रतियोगिता सुरु

 छन्दू, चीन । पर्यटन प्रवद्र्धनका लागि नेपालसम्बन्धी पहिलो अन्तराष्ट्रिय फोटोग्राफी प्रतियोगिता चीनमा सुरु भएको छ । प्रतियोगितामा भाग लिन नेपाल भ्रमणमा जाने पहिलो चिनियाँ फोटोग्राफी टोलीलाई चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले रुद्राक्षको माला लगाएर विदाई गर्नुभयो । काठमाडौँ महानगरपालिकासँग भगिनीसम्बन्ध स्थापना भएको पहिलो वार्षिकोत्सवको अवसर पारेर छन्दू सहरको पर्यटकीय क्षेत्र वाइड न्यारो एलेमा छ दिने नेपालसम्बन्धी फोटो प्रदर्शनी पनि सुरु गरिएको छ ।

दैनिक एक लाखभन्दा बढी पर्यटकले भ्रमण गर्ने वाइड न्यारो एलेमा कम्तिमा ६ लाख चिनियाँ तथा विदेशी पर्यटकले उक्त प्रदर्शनी अवलोकन गर्न अपेक्षा गरिएको छ । प्रतियोगिता र प्रदर्शनीको उद्धाटन गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालको पर्यटन प्रवद्र्धन गर्न फोटो प्रतियोगिता कोशे ढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । चीन नेपालको दोस्रो ठूलो पर्यटकीय स्रोत भएको उल्लेख गर्दै नेपालको पर्यटन प्रवद्र्धनका क्षेत्रमा छन्दू सहर, सिछुवान प्रान्त र चीन सरकारले गर्दै आइरहेको सहकार्यका लागि आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका मिडिया विज्ञ शरद प्रधानले नेपालको पर्यटन क्षेत्रमा फोटोग्राफी पर्यटनको अवधारण विकसित भएको उल्लेख गर्दै प्रतियोगितामार्फत अझ धेरै चिनियाँलाई नेपालमा स्वागत सकिने विश्वास ब्यक्त गर्नुभयो । अन्य गन्तब्यको तुलनामा नेपालमा जाने चिनियाँ पर्यटकको संख्या थोरै भएकोले फोटोग्राफी प्रतियोगिता र प्रदर्शनी गरिएको बताउनुभयो । कार्यक्रममा काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पठाउनुभएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा बेइजिंगस्थित नेपाली राजदूताबास, सिछुवान प्रान्तीय र छन्दू नगर सरकार, पर्यटनसँग सम्बन्धित स्थानीय संघसंस्था, चीनका फोटोग्राफी क्लबलगायतको सहकार्यमा उक्त कार्यक्रम साइनो नेपाल मिडिया सोसाइटीले आयोजना गरेको हो ।
प्रतियोगिताको अवधिभर सन् २०१८ मा कम्तिमा २० हजार चिनियाँ फोटोग्राफरलाई नेपाल भ्रमण गराउने र उनीहरुमार्फत सन् २०१९मा पाँच लाख चिनियाँ पर्यटकलाई नेपाल लैजान सकिने सोसाइटीको प्रक्षेपण गरेको छ ।