अब २० वर्ष पुराना गाडी कुनै पनि रुटमा चलाउन नपाइने

आगामी चैतदेखि २० वर्ष पुराना सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सवारी दुर्घटना र प्रदूषण न्यूनीकरणका लागि यातायात व्यवस्था विभागले चैतदेखि देशभर २० वर्ष पुराना सवारी साधन निषेध गर्न लागेको हो।

२०७३ फागुनदेखि काठमाडौंबाट हटाइएका २० वर्ष पुराना सवारीसाधन उपत्यकाबाहिरका रुटमा सञ्चालन भएपछि विभागले देशभर रोक लगाउने भएको हो। २०७४ फागुनदेखि हटाउने प्रक्रिया सुरु हुने विभागका प्रवक्ता डा. टोकराज पाण्डेले जानकारी दिए।

चैतसम्म २० वर्ष पुगेका गाडीलाई विभागले कुनै पनि रुटमा चल्न नपाउने गरी इजाजत रोक्नेछ। पुराना सवारीको नामसारी पनि रोकिने र बिक्रीमा पनि प्रतिबन्ध लगाउने तयारी भइरहेको पाण्डेको भनाइ छ। देशभर झण्डै पाँच हजारको हाराहारीमा २० वर्ष नाघेका सवारीसाधन रहेको अनुमान गरिएको छ।