७२ घन्टाका लागि सीमानाका बन्द

सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको जनाएको छ ।

केही दिनअघि भारतको पलियामा बसेको अन्तरदेशीय बैठकमा निर्वाचनका लागि सीमानाका बन्द गर्ने सहमति भएको थियो । यस अवधिमा मतदातालाई भने आवागमनमा कुनै रोक नलगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘मतदानका लागि नेपाल आउनेलाई भने सहज प्रवेशको व्यवस्था गर्नेछौँ,’ उनले भने ।

निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसँगै नेपाली सेनाले पनि विभिन्न स्थानमा अस्थायी बेसक्याम्प खडा गरेर सुरक्षा व्यवस्था मजबुत पारेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा दुई सय ३१ मतदानस्थल रहेका छन् । मतदानस्थललाई तीन तहमा वर्गीकरण गर्दै सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पहरी उपरीक्षक विनोद घिमिरेले बताए । उनका अनुसार ७७ वटा अति संवेदनशील मानिएका मतदानस्थलमध्ये एक सय १७ वटा संवेदनशील र ३७ वटालाई सामान्य तथा कम संवेदनशील भनेर वर्गीकरण गरिएको छ ।