गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ,यसरी पक्राउ परे बस्नेत

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बस्नेतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। बस्नेतलाई यही मंसिर १५ गते चितवनको नारायणगढबाट पक्राउ गरिएको सीआईबीद्वारा महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

विदेशमा बसेर नेपाली व्यवसायीहरुलाई डर धम्की देखाई रकम असुल्दै आएका बस्नेत नेपाल प्रवेश गरेको भन्ने विशेष सुराकीका आधारमा नारायणगढबाट पक्राउ गरिएको सीआईबीका निर्देशक डीआईजी पुष्कर कार्कीले जानकारी दिए। गौचनका अलावा एमालेनिकट युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या र दावा लामालाई गोली प्रहार घटनाको मुख्य योजनाकारसमेत बस्नेत नै रहेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिए। तिवारी हत्याको जिम्मा मनोज पुनले लिए पनि उनलाई गोली प्रहार गर्ने लोप्साङ लामा बस्नेतकै मुख्य सहयोगी रहेको र सो हत्यामा बस्नेतकै संलग्नता रहेको अनुसन्धानमा खुल्न आएको छ।

दुर्गा तिवारी हत्या र दावा लामामाथि गोली प्रहार पनि बस्नेतबाटै

प्रहरीका अनुसार रूपन्देहीका दुर्गा तिवारीको हत्यामा पनि बस्नेतकै संलग्नता छ । तिवारी एमालेनिकट युवा संघका जिल्ला अध्यक्ष थिए । उनको हत्या गर्न बस्नेतले मनोज पुनलाई प्रयोग गरेका थिए । हत्यालगत्तै पुनले प्रहरीलाई फोन गरेर जिम्मेवारी लिएका थिए । त्यस्तै, डनका रूपमा परिचित दावा लामामाथि पनि बस्नेतकै निर्देशनमा गोली प्रहार भएको थियो । दावालाई बस्नेत समूहले २९ चैत ०७३ मा गौरीघाटस्थित दिव्या पार्टी प्यालेसको गेटमा गोली प्रहार गरेको थियो । तीन गोली लागेका लामा उपचारपछि बाँच्न सफल भएका थिए ।

यसरी पक्राउ परे बस्नेत

प्रहरीले बस्नेतको कमजोरी पक्राउ परेका अन्य अभियुक्तमार्फत लियो । हत्यामा प्रयोग गरिएका प्रविधिबारे जानकारी पनि उनीहरूबाटै प्राप्त गर्यो । पक्राउ परेका अभियुक्तले बस्नेत भारतमै लुकेका जानकारी दिए । सामाजिक सञ्जालमार्फत प्रहरीले बस्नेतलाई चितवनसम्म ल्याउन योजना बनायो । योजनाअनुसार नै बस्नेत चितवन आए । चितवन आएकै वेला उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बस्नेत पक्राउ गर्न पाँच लाख भारु अर्थात् आठ लाख रुपैयाँ खर्च भएको छ ।

को हुन् बस्नेत ?

समिरमानसिंह बस्नेत काठमाडौं–१३ बाफलका स्थायी बासिन्दा हुन् । उनको शैक्षिक योग्यता +२ अध्ययन हो । कलेज पढ्दापढ्दै उनी चक्रे मिलन उर्फ मिलन गुरुङसँग निकट भए । अध्ययन छोडेर पूर्णकालीन रूपमा चक्रे मिलन समूहमा बसेर आपराधिक काममा सक्रिय बने । चक्रे मिलनसँग विवाद भएपछि उनी कुमार घैँटे समूहमा लागे । घैँटे समूहसँग संलग्न रहेका वेला उनले असुली धन्दा चलाए ।

घैँटे राजनीतिमा लागेपछि उनले घैँटे समूह पनि छाडे र आफ्नै समूह बनाउन तर्फ लागे । आश्रयस्थलका लागि भारतमै बसेका वेला उनको मनोज पुनसँग भेट भयो । मनोजको सक्रियतापछि समूहमा अन्य सदस्य पनि थपिए । र, डनका रूपमा आपराधिक क्षेत्रमा उदाए ।

गौचन हत्यामा १५ जना संलग्न

प्रहरीका अनुसार गौचन हत्यामा १५ जना संलग्न थिए । हत्याको योजना बस्नेतले बनाए पनि हतियारदेखि बस्दोबस्तीका अन्य व्यस्थापन भने लोप्साङ लामा र मनोज पुनले गरेको प्रहरीको भनाइ छ । प्रहरीले वसन्त थेवे, धनराज योङहाङ, राजीव स्याङताङ, प्रकाश बुढाथोकी, शिवजी महतो, मुकेशकुमार पाण्डे र सन्तोष गुरुङलाई पक्राउ गरिसकेको छ । मनोज पुन, लोप्साङ लामा, गंगाप्रकाश लिङ्देन, श्याम गोम्बे गुरुङ, अमरबहादुर थापामागर, रोशन बुढाथोकी र अजय थापा भने फरार छन् ।

‘हत्याका मुख्य योजनाकार बस्नेत भए पनि उनी फिल्डमा खटिएको देखिँदैन । यसमा लोप्साङ लामा र मनोज पुन संलग्न भएको देखिन्छ । हतियारदेखि बन्दोबस्तीका सबै सामग्री जुटाउने काम लामा र पुनबाटै भएको देखिन्छ,’ डिआइजी कार्कीले भने, ‘हत्याका लागि टोली बनाउने, ठाउँको रेकी गर्ने र निर्देशन दिने काम लामा र पुनले नै गरेको देखिन्छ । उनीहरूको खोजी भइरहेको छ ।’

सामाजिक सञ्जाल प्रयोग

दुर्गा तिवारी हत्या र दावा लामामाथि गोली प्रहार घटनामा प्रहरी अनुसन्धानले कुनै भेउ पाउन नसकेपछि बस्नेतको मनोबल बढ्न पुग्यो । दुवै घटनाका योजना उनले भारतमा बसेर बनाएका थिए । प्रहरीको असफलताले बस्नेत समूहलाई झनै हौस्यायो । यही पृष्ठभूमिमा बस्नेत समूहले गौचन हत्याको योजना भारतमै बनायो । यसका लागि सूचना संकलनमा उनीहरूले अत्याधुनिक प्रविधिको प्रयोग गरेका थिए ।

प्रहरीबाट मोबाइल फोन ट्याप हुनेप्रति उनीहरू जानकार थिए । सोही कारण उनीहरूले गौचन हत्यामा मोबाइल फोन प्रयोग गरेनन् । यसका लागि ‘हाई स्पिड’ सुविधासहितको इन्टरनेट डाटा (फोरजी) सुविधा लिए । भाइबर, ह्वाट्स एप र म्यासेन्जर चलाए । सूचना संकलनका लागि यही सुविधामार्फत फोन गरे, किनकि यसबाट फोन गर्दा कुनै रेकर्ड नबस्नेप्रति उनीहरू जानकार थिए । ‘गौचन हत्यामा उच्च प्रविधिको प्रयोग भएको भेटियो । यसमा प्रयोग भएका प्रविधि निकै युनिक थिए । त्यही भएर अभियुक्त पक्राउ गर्न समय लाग्यो,’ डिआइजी कार्कीले भने ।

यस्तो थियो गौचन र घैँटेबीचको सम्बन्ध

प्रहरीका अनुसार गौचन हत्या ठेक्कापट्टामा करिब ६१ करोड रुपैयाँको हिसाब नमिल्दा भएको हो । त्यसमध्ये, एक करोड रुपैयाँ सेयर विवाद हो । ६० करोड हुलाकी राजमार्गको ठेक्का कमिसन हो । प्रहरीका अनुसार गौचन र डनका रूपमा परिचित कुमार घैँटेबीच व्यावसायिक साझेदारी थियो । गौचन डाँफे कन्ट्रक्सनका सञ्चालक र घैँटे गजुरमुखी कन्स्ट्रक्सनका मालिक थिए ।

दुईबीच व्यावसायिक साझेदारीको सहमति भयो । सोही कारण गौचन दुई करोड ५० लाख रुपैयाँको डाँफे कन्स्ट्रक्सनको सेयर घैँटेलाई दिन राजी भए । त्यही क्रममा घैँटे प्रहरी इन्काउन्टरमा मारिए । सेयरबापतको रकम गौचन आफैँले राखेका थिए । घैँटेले गौचनलाई दिएको साढे दुई करोडमध्ये एक करोड बस्नेतसँग सापटी लिएका थिए । घैँटे मारिएलगत्तै बस्नेतलाई सापटीबापतको रकम डुब्ने आशंका उत्पन्न भयो ।

सो रकम फिर्ता लिन बस्नेतले घैँटेको परिवारलाई आग्रह गरे । तर, घैँटेको परिवारले दिन नसक्ने जनाएपछि सो रकम गौचनबाटै असुल्ने अभियानमा लागे । बस्नेतले गौचनलाई रकम फिर्ता दिन पटक–पटक फोन गरे, तर उनी सफल भइरहेका थिएनन् । यही क्रममा गौचनको डाँफे कस्ट्रक्सनले वीरगन्ज–विराटनगर जोड्ने करिब ३० अर्ब रुपैयाँ बराबरको ठेक्का पायो । बस्नेतले सो ठेक्कामा दुई प्रतिशत कमिसनबापतको हिस्सा खोजे । त्यसो हुँदा गौचनले बस्नेतलाई ३० अर्ब रुपैयाँको दुई प्रतिशतका दरले ६० करोड रुपैयाँ कमिसन दिनुपर्ने भयो ।

बस्नेतले गौचनसँग कमिसनबापतको ६० करोड र सेयरबापतको एक करोड गरी ६१ करोड रुपैयाँ माग्न थाले । यसका लागि उनले सबै हत्कन्डा अपनाए । तर, गौचनबाट रकम पाउन सकेनन् । यही विषय नै गौचन हत्याको प्रमुख कारण बन्न पुग्यो । २३ असोजमा गौचनको नयाँ बानेश्वरस्थित प्रयागमार्गमा गोली हानी हत्या भयो । नयाँपत्रिकाबाट