बाँदरमुढे घटना सम्झिँदै प्रचण्डले भने- ‘त्यो दिन खाना पनि खाइनँ’
१३ वर्षअघि सशस्त्र द्वन्द्वको समयमा भएको बाँदरमुढे विस्फोटको विषय सम्झेर माओवादी अध्यक्ष प्रचण्ड भावुक भएका छन्। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको माडीमा आइतबार भएको सभामा उनले सो घटनामा ठूलो गल्ती भएको बताए। सभामा प्रचण्डले भने, ‘यता बाँदरमुढेमा अकल्पनीय र दुःखद घटना हुँदा म परिवारसहित रोल्पाबाट दाङ झर्दै थिएँ, घटना सुन्नेबित्तिकै मैले ठूलो गल्ती भयो भन्ने महसुस गरेको थिएँ।’
घटना सुनेको साँझ खाना नखाएको र राति सुत्न पनि नसकेको उनले बताए। ‘अब सबै पुराना कुरा बिर्सेर परिवर्तनमा होमिनुपर्छ,’ प्रचण्डले भने, ‘बाँदरमुढे घटना अब माडी परिवर्तनको केन्द्रबिन्दु भएको छ।’ माडीलाई सबैखाले विकासको पूर्वाधारयुक्त बनाउने प्रचण्डले बताए। सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले चितवन र माडी क्षेत्रको विकासको सपना प्रचण्डले देखेबमोजिम आफूले पूर्ण सहयोग गर्ने बताए।
ओलीले नाकाबन्दीको समयमा ठोरी नाका र माडीवासीले देशलाई गुन लगाएको बताए। उनले वाम गठबन्धनको स्पष्ट बहुमत आउने दाबी गर्दै मतदानमा हुन सक्ने धाँधलीबाट सतर्क हुन कार्यकर्तालाई आग्रह गरे।
प्रचण्डलाई भोट माग्दै पाण्डेका सारथि
माडीमा भएको सभामा राप्रपा प्रजातान्त्रिकका महामन्त्री तथा उद्योग राज्यमन्त्री रेशम लामाले प्रचण्डका लागि भोट मागेका छन्। ‘म पनि पाण्डेजस्तै ठेकेदार हुँ, देशको विकास गर्न पाण्डे होइन, प्रचण्ड चाहिन्छ,’ लामाले भने, ‘विक्रम पाण्डे ठेकेदार हुन्, नेतृत्व लिन सक्दैनन्।’ दुई धु्रवमा बाँडिएको गठबन्धनमध्ये आफूले देशको आवश्यकताअनुसार वाम गठबन्धन रोजेको र प्रचारमा लागेको उनले बताए।
सो अवसरमा राप्रपा प्रजातान्त्रिकका केन्द्रीय सदस्य विनीता सिंह ठकुरी, राप्रपा प्रजातान्त्रिकनिकट दलित संगठनका जिल्ला सदस्य दिलीप विक, कांगे्रस क्षेत्रीय समिति सदस्य प्रमोद पोखरेललगायत वाम गठबन्धनमा प्रवेश गरेका छन्।
बाँदरमुढे पीडितसँग सम्झौता
माओवादी र बाँदरमुढे घटनाका पीडितबीच तीनबुँदे सम्झौता भएको छ। आइतबार पीडित परिवारका २९ जना र माओवादी अध्यक्ष प्रचण्डले सम्झौता गरेका हुन्। मृतकका आश्रित परिवारका काम गर्न सक्नेलाई रोजगारीको व्यवस्था, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकाको पठनपाठनको व्यवस्था गर्ने सम्झौतामा उल्लेख छ। त्यस्तै, घाइतेका लागि औषधोपचारको व्यवस्था, काम गर्न सक्नेलाई रोजगार र स्वरोजगार, नसक्नेलाई जीवनवृत्तिको व्यवस्था रहेको छ।
बाँदरमुढे घटनास्थलमा मृतकको सम्झनामा १० बिघा जग्गामा स्मारक, चिडियाखाना, नमुना संग्रहालय बनाउने लिखित सहमति भएको छ। पीडित परिवारको आर्थिक क्षति, उपचार खर्च र बालबालिकाको शिक्षा खर्चका विषयमा माग सम्बोधनका लागि घटना पीडित परिवारबाट तीनजना, माओवादीबाट तीनजना र एकजना नगरपालिकाको प्रतिनिधि रहने गरी समिति बनाइने भएको छ। यसअघि बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई भव्य स्वागत गरे। नयाँपत्रिकाबाट