गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान बस्नेत पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो । उनलाई प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले पक्राउ गरी अहिले २ बजे पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्न लागेको छ ।
आपराधिक समूहले सबै निर्माण व्यवसायीबाट फिरौती रकम उठाएर आफूलाई बुझाउन दिएको धम्कीयुक्त आदेश नमानेपछि उनीमाथि गोली प्रहार भएको प्रहरीले निष्कर्ष निकालेको छ । असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडी भित्रै गोली हानेका थिए ।यसअघि नेपाल प्रहरीले मुख्य सुटरसहित ५ जनालाई हत्याकाण्डको ३७ दिनपछि पक्राउ गरी सार्वजनिक गरेको थियो ।
पक्राउ पर्नेमा मुख्य सुटर नुवाकोटका राजीव लामा स्याङ्तान, पर्साका शिवजी महतो, भारत विहारका मुकेश पाण्डे, चितवनका सन्तोष गुरुङ, नागार्जुनका प्रकाश बुढाथोकी, ताप्लेजुङका वसन्त थेबे र पाँचथरका धनराज योङहाङ थिए । भारतका विभिन्न स्थानमा बसेर नेपालमा फिरौती असुलीको धन्दा चलाइरहेका समीरमान बस्नेतको योजनामा गौचनको हत्या गरिएको अनुसन्धानबाट खुलेकाे छ ।