उत्तर कोरियाद्वारा ‘अमेरिकासम्मै पुग्ने’ नयाँ क्षेप्यास्त्र परिक्षण
प्योङयाङ । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण गरेको दाबी गरेको छ । सरकारी टेलिभिजनमा प्रशासित समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको बताइएको हो ।
ह्वासोङ–१५ नाम दिइएको उक्त क्षेप्यास्त्र बुधबार विहान प्रक्षेपण गरिएको थियो । जापानी समुद्रमा खसेपछि उक्त परिक्षणको व्यापक आलोचना गरिएको थियो । प्योङयाङका अनुसार नेता किम जोङ–उन आफैले उक्त प्रक्षेपणमा भाग लिएका थिए ।
दक्षिण कोरियाली सेनाका अनुसार क्षेप्यास्त्र ४५०० किलोमिटर उचाईंबाट ९६० किलोमिटर टाढासम्म पुगेको थियो । उत्तरले पछिल्लो समय श्रृंखलाबद्ध रुपमा यस्ता परिक्षणहरु गर्दै आइरहेको छ । जसको कारण कोरियाली प्रायद्वीपमा तनाव बढिरहेको छ ।
गत सेप्टेम्बरमा पनि कोरियाले क्षेप्यास्त्र परिक्षढा गर्नका साथै छैटौँ परमाणु बमको परिक्षण समेत गरेको थियो । कोरियामाथि थप प्रतिबन्ध लगाइए पनि उसले आफ्नो परमाणु र क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ । अमेरिका, जापान र दक्षिण कोरियाले यस परिक्षणको विरोध गरेको छ ।