उदयपुरमा शक्तिशाली बम विस्फोट हुदाँ कांग्रेस उम्मेदवारसहित ४ घाइते

उदयपुरको गढी गाउँपालीका वडा नम्बर ६ दनुवार बेसीमा माईन बम बिस्फोट भएको छ । निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा पर्दा कार्कीसहित चारजना गम्भीर घाइते भएका छन् । कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन कार्कीसहितको टोली जाँदै गर्दा करिब साढे १० बजेतिर सडकमुनी राखिएको बम विष्फोट भएके हो ।

प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार उदयपुरगढी गाउँपालिकाको वडा ५ र ६ को बीचमा पर्ने दनुवार बेंसी पुग्दा कार्की चढेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोट हुँदा गाडी करिब १० फिट माथिसम्म उफ्रिएको थियो । गाडी क्ष्ँतिगस्त बनेको छ ।

घटनामा परी उम्मेदवार कार्की र उनका सहयोगी कार्यकर्ताहरु मीरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्की गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि लैजान राजधानीबाट हेलिकप्टर आइरहेको छ । आउनासाथ सबैलाई राजधानी पठाइने प्रहरीले जनाएको छ । विष्फोट कसले गराएको भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरीको टोली गएर घाइतेहरुको उद्धार गर्ने काम भइरहेको छ । सदरमुकाम गाईघाटबाट ४८ किलो मिटर टाढा रहेकोे छ । घाईतेलाई उपचार गर्न कटारी अस्पताल लगिदै गरेको स्थानीयले जानकारी दिए ।