यसकारण मतपेटिका सदरमुकाम ल्याइएन

बझाङ, मंसिर ११ । बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनओटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।  वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ ।

दलका प्रतिनिधिहरुले मतपेटिकासँगै हेलिकोप्टरमा आफूहरु पनि सदरमुकाम चैनपुर जान पाउनुपर्ने भनेपछि विवाद भएको हो । तर, नेपाली सेनाले हेलिकोप्टरमा प्रतिनिधिहरुलाई सिट नपुग्ने भनेपछि तीनओटा मतपेटिका उतै छाडेर आएको जिल्ला निर्वाचन कार्यलयका प्रमुख ध्रुवकुमार भण्डारीले जानकारी दिए ।

उक्त ठाउँबाट सदरमुकाम चैनपुर आइपुग्न पैदलमार्गबाट तीन दिन लाग्छ । अहिलेसम्म त्यहाँका मतपेटिका कसरी ल्याउने भन्नेबारेमा कुनै छलफल नै नभएको जनाइएको छ । १६० मतदान केन्द्र रहेको बझाङमा १५९ मतदान केन्द्रका मतपेटिकाहरु भने सुरक्षित तरिकाले सदरमुकाम चैनपुर ल्याइएका छन् । १५९ मतदान केन्द्रका ४७७ मतपेटिका जिल्ला पशुसेवा कार्यलयको हलमा सुरक्षित राखिएका छन् भने ती तीनओटा मतपेटिका ल्याउन बाँकी छ ।

मतपेटिका राखिएको स्थानमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । उक्त स्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले सुरक्षा दिइरहेका छन् ।