जाजरकोट कुसेगाउँपालिकामा मतपेटिकालाई लक्षित गरि बम प्रहार
जिल्ला सदरमुका खलंगामा ल्याउदै गरेको मतपेटिकालाई लक्षित गरि सोमबहार विहान बम प्रहार गरिएको छ । कुशेगाउँपालिका, १ रोलखोलामा सोमबार विहान ८ः ३० बजे बम प्रहार भएको प्रहरीले जानाएको छ ।प्रहार गरिएको बम बिस्फोट हुदा मतपेटिका बोकेका सहयोगी शान्त बहादुर बस्नेत सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
मतपेटिकालाई लक्षित गरि प्रहार गरिएको बम बिस्फोटबाट मतपेटिका सुरक्षित रहेको प्रहरी प्रमुख रिमालको भनाई रहेको छ । उक्त मतपेटिका आज बेलुका सम्म सदरमुकाम पुग्ने प्रहरी श्रोतले जनाएको छ ।
नेत्र बिक्रम चन्द महासचिव रहेको नेकपाका कार्यकर्ताले बाम बिस्फोट गराएको हुन सक्ने आशंका गरिएको भएता पनि बम बिस्फोट गराएको जिम्मेवारी भने कसैले लिएको छैन । शुक्रबार मात्रै सोही वडाका वडा अध्यक्ष गोपाल नेपालीलाई अज्ञात समूहले अपहरण गरेको थियो । उनी हिजो मात्र अपहरणमुक्त भएका छन् । उनले आफूलाई विप्लवका कार्यकर्ताले अपहरण गरेको जनाएका छन् ।