चुनावले निम्त्याएकाे विकृतिः पैसा र रक्सीमा डुबे मतदाता
निर्वाचन आयोगले पहिलो चरणमा ३२ जिल्लामा ‘शान्तिपूर्ण र उत्साहजनक निर्वाचन सम्पन्न’ भएको समाचार दिइराख्दा मतदानस्थलमा भने पैसा र दबाबमा सहभागी भएका र विकृत दृष्यले भरिएको देखिन्थ्यो । यसको उदाहरण रामेछापका विभिन्न स्थानमा देखिएका मतदाता र भोट खरिदबिक्रीको ठेक्का लिएका ‘स्थानीय नेता’बीच आइतबार चलेको गलफतीलाई लिन सकिन्छ । यो गलफती हेर्दा चुनावले समाजलाई कतिसम्म विकृत र भ्रष्ट बनाएको भन्ने अनुमान लगाउन सकिन्छ ।
यहाँ ती नेताले मतदातालाई रक्सी खुवाएर भोट लिएको समेत खुलेको छ । जिल्लाको दोरम्बा गाउँपालिका वडा नम्बर ४ को खारपानी मतदान केन्द्रमा आइतबार भएको मतदान पैसा लिएर मतदान गर्न नआएको भन्दै भनाभन समेत चल्यो । खारपानी पूरै मगर गाउँ हो । मतदान गरिसकेपछि नेताले खुवाएको रक्सीले मातेर थुप्रै पुरुष र महिलाले गतिछाडा व्यवहार देखाए ।
स्थानीय डिल्लीबहादुर तामाङका अनुुसार खारपानी केन्द्रमा मत हालेर घर फर्केका चार महिला रक्सीले लठ्ठ भएपछि बाटैमा अलपत्र परे । उनीहरु आफ्नो घर चौंरीखोला बेसींमा झर्दै दिए । यो मतदान केन्द्र पुसमाघमा हिउँ पर्ने ठाउँ हो । ती महिलाहरु ओढ्ने कपडा त परैजाओस् शरीरमा लगाएको कपडा समेत सम्हाल्न सक्ने अवस्थामा रहेनन् । दर्जनभन्दा बढी संख्या ठिटाहरु समेत रक्सीले मातेका थिए । अर्का स्थानीय थिरबहादुर मगरले बताए अनुसार मातेका सबै एमाले र माकेका मतदाता हुन् ।
त्यस्तो नाजुक अवस्था देखेर केही ठिटाहरुले मोटरसाइकलमा घर पुर्याइदिन खोजे, तर कोही पनि वाइक पछाडि अडिन सक्ने अवस्था थिएनन् । जंगलको बाटो, त्यसमा पनि साँझ पर्न शुरु भइसकेको थियो । त्यसपछि पछिपछि आइरहेका कांग्रेसका स्थानीय नेता र मतदाताहरुले केहीलाई डोहोर्याएर र केहीलाई बोकेरै घर पुर्याएका छन् । ‘डुब्ने गरी रक्सी खाने एमाले र माकेको, उद्धार गर्नुपर्ने हामीले’ कांग्रेसका एक कार्यकर्ताले बताए ।
उक्त केन्द्रमा मतदान दिउँसो ३ बजे नै सकिसकेको थियो । योपटक थोरै संख्यामा मतदाता भोट हाल्न सहभागी भएको र धेरैजसो पैसा र दबाबमा आएको मतदाताको भनाई उदृत गर्दै हाम्रा प्रतिनिधिले बताएका छन् । करिब पचास प्रतिशतले मात्र भोट हालेको स्थानीय तेजबहादुर मगरले बताए । धेरैजसो चुनावी खर्च नपाएको भन्दै दिनभर घरमै बसेका थिए भने चुनावले भ्रष्टचार फैलाएको भन्दै नियमित काम गर्न खेतबारीतिर लागेका थिए । ‘चुनावप्रति मान्छेको आकर्षण मर्दै गएको देखियो ।
अब नयाँ राजनीतिक व्यवस्थाबिना मतदाताको ध्यान तान्ने देखिँदैन’ मगरले भने । दलीय चुनावले समाजमा विकृति र गुण्डाराज फैलाएको उनको भनाई छ । ‘अब विकृत चुनाव काम छैन’ उनले भने । सोही गाउँपालिकाको वडा नम्बर ७ को थापागाउँस्थित भीमेश्वर माविमा रहेको मतदान केन्द्रमा कूल ३ हजार ४५२ मतसंख्यामध्ये १ हजार ४४७ मत मात्र खसेको छ ।