मतदातालाई झुक्याउँदै उम्मेदवार – भन्छन् देउताको ‘कसम’ दायाँ–बायाँ गर्दैनौं
चन्दननाथ नगरपालिका–१० की लक्ष्मी देवकोटाको घरमा कांग्रेस कार्यकर्ता मत माग्न पुगे। साँझको समयमा पुगेका उनीहरूले आफ्नो उम्मेदवारको पक्षमा मत हाल्न आग्रह गरे। देवकोटा परिवारले पनि आइतबार हुने निर्वाचनमा कांग्रेसलाई नै भोट हाल्ने आश्वासन दिए। तर, उक्त आश्वासनमा कांग्रेस कार्यकर्तालाई विश्वास लागेन। उनीहरूले देवकोटाकै घरमा रहेको देउताको घण्ट छुन लगाए।
देवकोटा परिवारले घन्ट छोएपछि मत दिने वाचा गराएर उनीहरू फिर्ता भए। आफूले पुज्ने देउताको घन्ट छोएपछि यो परिवारका सदस्यले वाचाअनुसार नै मतदान गर्ने भएका छन्। घरमुली लक्ष्मी देवकोटाले भने, ‘अघिल्लोपटक स्थानीय चुनावमा पनि घण्ट छुन लगाएका थिए। त्यसबेला पनि हामीले वाचाअनुसार नै भोट दियौं। यसपालि पनि हाम्रै गाउँका उम्मेदवार छन्, देउताको कसम खाइसकेकाले अब हामी दायाँ–बायाँ गर्दैनौं।’
चन्दननाथ–८ निवासी हरिकला शाहीले सबै दलका मान्छे मोट माग्न आएको तर माओवादीका मान्छेले घन्ट छुवाएको बताइन्। ‘भोट त एउटालाई दिनै पर्ने हो, जितेर गएपछि हामीलाई नेताले चिन्दैनन्’, उनले भनिन्, ‘भोट माग्न त धेरै आए, सबैलाई हुन्छ भनेकै छौं तर माओवादीका मान्छेले घण्ट छुवाएका छन्। कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदातालाई घण्ट छुवाएर मत दिन बाध्य पारेका छन अब वाचा गरिसकेपछि धोका दिनु त भएन नि!’ उनले आफ्नो टोलका अधिकांशलाई नेताले देउता साक्षी राखेर भोट मागेको जानकारी दिइन्।
‘हामी देउतामा विश्वास गर्छौं, वाचा तोडेपछि देउता रिसाएर अनर्थ हुन्छ। त्यसैले भनेकै ठाउँमा छाप लगाउने हो, अरूले पनि त्यही गर्ने सल्लाह गरेका छन्।’ स्थानीय तह निर्वाचनमा पनि दलहरूले घण्ट छुन लगाएर देउताको कसम खुवाएको उनले सुनाइन्। मौन अवधिका बेला मतदाताको घरदैलोमा पुगेका कांग्रेस र वाम गठबन्धनका कार्यकर्ताले मतदातालाई देउताको कसम खुवाएर मत दिन वाचा गराएका छन्।
कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोटका ग्रामीण क्षेत्रका मतदातालाई रिझाउन उम्मेदवार र तिनका कार्यकर्ताले विभिन्न उपाय अपनाउने गरेका छन्। यसपालिको निर्वाचनमा जुम्लामा अधिकांश उम्मेदवार र दलले आफ्नो पक्षमा मत खसाल्न मतदातालाई घरमै पुगेर उनीहरूले पुज्ने कुल देउताको कसम नै खुवाएका हुन्। जुम्लालगायत कर्णालीका जिल्लामा स्थानीय बासिन्दा आफ्नो कुल देउतामा विश्वास गर्छन्। स्थानीयले देउतालाई साक्षी राखेर खाएको कसम र गरिएको वाचाअनुसार नै काम गर्ने भएकाले पनि दलले यो उपाय अपनाएका हुन्।
यहाँका मतदातालाई उम्मेदवार र तिनका कार्यकर्ता निर्वाचनको अघिल्लो दिनसम्म देउताको कसम खुवाउँदै मत माग्न व्यस्त देखिए। ग्रामीण क्षेत्रमा मात्र होइन, सदरमुकाम र नगरभित्रका मतदातालाई समेत दलहरूले घरमै पुगेर देउताको कसम खुवाएका छन्। देउताको कसम खाँदै मत दिने वाचा गरेका मतदाताले समेत वाचाअनुसार नै मत दिने विश्वास दललाई दिलाएका छन्। वाचाअनुसार काम नगर्दा देउता रिसाउने र अनर्थ हुने भन्दै वाचाअनुसार काम पूरा गर्ने स्थानीय बासिन्दा बताउँछन्। अन्नपुर्णबाट