राजपाको घोषणापत्र : उमेर पुगेका युवतीलाई विवाहमा सुनको मंगलसुत्र !
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। महोत्तरीको जलेश्वरमा बिहीबार सार्वजनिक गरिएको घोषणापत्रमा राजपाले कृषकलाई सहुलियत ऋणदेखि उमेर पुगेर विवाह गर्ने महिलालाई मंगलसुत्र दिनेसम्मको विषय उल्लेख गरेको छ।
‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी नारासहित तयार पारिएको घोषणापत्र अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको लगायतले सार्वजनिक गरे। घोषणापत्रमा र पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रुत गतिमा हुनुपर्ने उल्लेख गरिएको छ।
राज्यको बेवास्तामा परेको मधेस र थरुहट क्षेत्रको विकासलाई अबको सर्वाधिक प्राथमिकताको विषय बनाउने राजपाको घोषणमा पत्रमा उल्लेख छ। बाढीपहिरोको स्थायी समाधान, हुलाकीमार्ग तीव्र निर्माण, थप सडक सञ्जाल र रेल सेवाको विस्तार, काठमाडौं–निजगढ द्रूतमार्ग र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, जनकपुर–अन्तर्राष्ट्रिय पर्यटन स्थल एवम् विश्व हिन्दूकेन्द्र स्थापना गर्ने उल्लेख छ।
राजपाले हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, वर्षायामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवम् व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ।
यस्तै, राजपाले सूचना प्रविधि र इन्टरनेटको सेवा उपलब्ध नभएका तथा गुणस्तरीय नभएका ठाउँहरुमा सुलभ र सस्तो इन्टरनेट सेवा उपलब्ध गराउने, सरकारी र सार्वजनिक विद्यालयहरुमा निशुल्क इन्टरनेटको व्यवस्था गर्ने जनाएको छ। उच्च शिक्षा र वैदेशिक रोजगारमा जान चाहने युवाहरुका लागि धरौटीसहित ऋण उपलब्ध गराउने राजपाले आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ।
विवाहमा मंगलसुत्र!
‘महिलाका लागि उच्च शिक्षा नि:शुल्क गर्ने, हरेक नवजात शिशु (बालिका) जन्मनासाथ उसको सुरक्षित भविष्यका लागि आमाको संरक्षकत्वमा १० हजार रुपैयाँ अनुदान दीर्घकालीन मुद्धति खाता खोली बैंकमा जम्मा गरिनेछ, जुन बालिका १८ वर्ष पुगेपछि आवश्यकता अनुसार व्याजसहितको एकमुष्ट रकम प्रयोग गर्न सक्नेछन्,’ घोषणापत्रमा भनिएको छ। राजपाले आफ्नो घोषणापत्रमा प्लसटुसम्मको शिक्षा प्राप्त गरेका र उमेर पुगेका युवतीलाई विवाहको समयमा आधा तोला सुनको मंगलसुत्र वा सो बराबरको रकम प्रदान गर्ने समेत उल्लेख छ।
यस्ताे छ किसानका लागि
किसानमैत्री कार्यक्रमलाई जोड दिँदै राजपालो कृषि क्षेत्रको आधुनिकिकरण गर्ने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ। नयाँ प्रविधिको प्रयोग, पैदावारको औद्योगिकीकरण, मल खाद्यको सस्तो र सहज उपलब्धता गराउने उसको घोषणापत्रा छ। किसानको प्रोत्साहनका लागि राजपाले आफ्नो घोषणापत्रमा कृषकलाई कृषि ऋण तथा नयाँ बजार विस्तार गर्दै कृषि क्षेत्रको विकास गर्ने उल्लेख छ। गरिबीको रेखामुनि रहेका अति विपन्न नेपालीको जीवन स्तर उकास्न त्यस्ता नागरिक पहिचान गरी उनीहरुलाई सहुलियत मूल्यमा चामल र अन्य दैनिक सामग्री सहज उपलब्ध गराउने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ।