सुदरपश्चिमका मतदाता निर्वाचन छोडेर काम खोज्न भारततिर

मंसिर १० र २१ को प्रतीक्षा व्यग्रताका साथ गरिदैछ । आम नेपाली जनता आफ्नो र मुलुकको भविष्य बनाउने प्रतिनिधि छान्न लालायित छन् । तर मुलुकका कतिपय भागमा भने गरीबीको समस्या नै ज्वलन्त बनेर अघि आएको छ । गरीबीको कारण उनीहरु निर्वाचन कुर्नु भन्दा साँझ विहान हात मुख जोड्ने सहारा खोज्न भारततर्फ ओइरिन थालेका छन् । उनीहरुका लागि मुलुकको भाग्य र भविष्य बन्दा आफुमाथिको गरीबी चर्को बनेर उभिएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको कारण देश निर्वाचनमय बनेको छ । तर कैलालीलाई भने निर्वाचनले छुन सकेको छैन । बढ्दो बेरोजगार, गरीबी, भरपर्दो उपचारको अभावमा कैलालीवासी निर्वाचनभन्दा पनि आफ्नो भविष्यको खोजीमा भारततर्फ पलायन बन्ने क्रम तीब्र बनेको छ ।

कैलालीको प्रमुख नाका गौरीफन्टा हुँदै भारत जानेको संख्या दैनिक बढ्दै गएको पाइन्छ । सयौंको संख्यामा युवायुवती मात्र नभई बृद्धबृद्धाहरु पनि रोजागरी र उपचारका लागि भारततर्फ पलायन भइरहेका छन् ।

धनगढी उपमहानगरपालिका १४ का ५६ वर्षीय हर्कबहादुर सार्की चुनावको भन्दा पनि परिवारको चिन्ताले सताएका कारण रोजगारी र उपचारको लागि भारतको रत्नागिरी जान बाध्य बनेका छन् । उनले कसलाई भोट हालेर के हुने हो र भन्दै विरामी श्रीमतीको उपचारको लागि भारततर्फ लागेका हुन् । भारतमा गए केही आम्दानी पनि गर्न सकिने भएकोले भारत जान लागेको उनको भनाई छ ।

सार्की मात्रै नभई कञ्चनपुरका २४ वर्षीय हिक्मत राना पनि घरको आर्थिक स्थिति कमजोर भएकोले कामको खोजीमा भारत जान लागेका छन् । नेता र राजनीतिक दलप्रति विश्वास नभएको भन्दै उनी भएको खेतमा गहुँ लगाएर आम्दानी गर्न भारत जान लागेको बताउछन् ।

सार्की र रानाको मात्र नभई कैलालीका अधिकांश मानिसहरु उपचार र रोजगारीको लागि भारततर्फ लागिरहेका छन् । महाउत्सवकोरुपमा लिइएको निर्वाचन छोडेर विदेश पलायन हुने नेपालीको बाध्यात्मक अवस्थाको भने अब दलहरु र तिनका उम्मेद्वारहरुले सम्बोधन हुने गरि काम गर्नैपर्छ ।

गरीबीको बोझले वास्तवमा मध्य तथा सुदूरपश्चिमका ठूलो संख्याका नेपालीलाई निरन्तर थिचेको छ । देश बनाउने राजनीतिप्रति पनि उनीहरुको विश्वास नहुनुलाई दलहरुले गम्भीररुपमा लिनैपर्छ ।