यस्तो देखियो सर्वोच्च अदालत बम आतंकपछि ….

सर्वोच्च अदालतमा आज झण्डै चार घण्टा दौडधुप र तनाव देखियो । कारण थियो, अज्ञात व्यक्तिबाट आएको एउटा फोन । फोनमा सन्देश थियो, सर्वोच्च अदालतमा बम छ । यो फोन पछि सुरक्षा निकाय र अदालतका कर्मचारी एकाएक सक्रिय भए । कर्मचारी र न्यायाधीसको भागभाग भयो । तछाडमछाड गर्दै सबै बाहिर निस्किए ।

आजका लागि तोकिएका सबै इजलास रोकिए । प्रहरीले खोज तलास शुरु गर्यो । चार घण्टा खोज्ज्दा पनि बम भेटिएन । क्रमशः स्थिति शान्त हुँदै गयो । फोन कलदेखि सर्च अभियानसम्म चार घण्टाको ड्रामा सकिएपछि कर्मचारी न्यायाधीस आफ्नो काममा फर्किए, मिडिया आ–आफ्ना न्युजरुममा ।

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिएका थिए ।

उनले भने, “बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास गर्यौँ। तर, केही भेटिएन ।” सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए ।