प्रचण्ड र माधबकाे दाेस्ती -प्रचण्डलाई हँसाउन यतिसम्म गरे माधव नेपालले
पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए ।
प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी विना र प्रकाश पुत्र प्रलव पनि साथमै थिए । १०ः४५ को यति एयरलाइन्सबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुगेका प्रचण्ड र उनको परिवारलाई सहज बनाउन सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरे ।
प्रचण्ड भन्दा करीब १० मिनेट अघि नै विमानस्थल पुगेका पूर्व प्रधानमन्त्री नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गरेनन्, केही सहज वातावरण पनि निर्माण गरिदिए । प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश-विनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास नेपालले गरे ।
करीब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरे । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरे । काठमाडाै टुडेबाट