जब प्रजिअले नै उम्मेदवारलाई भने – कार्यकर्ता खुँडा, खुकुरी, पेस्तोल बोकेर नहिँडून्
प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिनिधि र प्रदेश सभा उम्मेदवारका कार्यकर्तालाई संयमित राख्न आग्रह गरेका छन् । बिहीबार सर्वदलीय बैठक राखेर प्रजिअ बस्नेतले भने, ‘कार्यकर्तालाई तपाईंहरूले स्पष्ट भनिदिनुस् ‘पेस्तोल, खुकुरी, खुँडा बोकेर नहिँड्नु भनेर, म तपाईंहरूलाई आग्रह गर्छु, हतियारसहित प्रहरीले समात्यो भने हामी छुटाउन सक्दैनौँ भनिदिनुस् ।’ भाडामा केटाहरू ल्याएर निर्वाचन जित्ने सपना नदेख्न पनि प्रजिअले चेतावनी दिए ।
निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको बस्नेतको भनाइ छ । जिल्लाका ३९ स्थानमा सशस्त्र प्रहरीको पोस्ट खडा गरेको बस्नेतले बताए । ‘सशस्त्रको रिजर्भ फोर्स पनि खटाएका छौँ, नेपाल प्रहरीको २४ टोली मोबाइलका रूपमा र तीनवटा रिजर्भ फोर्स राखेका छौँ,’ बस्नेतले भने, ‘नेपाली सेनाका ६ गुल्ममध्ये पाँच गुल्मका सेना १५ ठाउँमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाएका छौँ ।’
स्थानीय निकायको निर्वाचनभन्दा सुरक्षा व्यवस्था कडा पारिएको उनको दाबी छ । ‘प्रत्येक मतदान केन्द्रमा कुनै अप्रिय घटना घट्यो भने थप सुरक्षाकर्मी १५ मिनेटमा पुग्छन्, त्यहीअनुसार सुरक्षा व्यवस्था मिलाएका छौँ,’ बस्नेतले भने । क्षेत्रीय र केन्द्रीय सुरक्षा समितिले पनि गोरखालाई अति संवेदनशील जिल्लामा राखेर सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएको बस्नेतको भनाइ छ । कार्यक्रममा नयाँ शक्ति पार्टीका पार्टी प्रतिनिधि ज्ञानेन्द्र कुमालले हतियार भेटिए पनि मान्छे पक्राउ नगर्दा प्रशासनप्रति आशंका उब्जिएको बताए ।
कांग्रेसका प्रतिनिधि नारायण लामिछानेले कर्मचारी प्रशासन निष्पक्ष तवरले निर्वाचन सम्पन्न गराउन लाग्नुपर्ने सुझाव दिए । माओवादी केन्द्रका अंकुर तिमल्सिनाले निर्वाचन आचारसंहिता पालना गर्न आफूहरू प्रतिबद्घ रहेको बताए । एमालेकी सानुमाया बस्नेतले स्थानीय तहको निर्वाचनजस्तै शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गराउन प्रशासनलाई आग्रह गरिन् । नयाँ पत्रिकामा खबर छ ।