यसकारण केपी ओली र प्रचण्ड भारतको दलाल हुन्, प्रमाण मसँग छ’ : माेहन बैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले एमाले र माओवादी केन्द्रलाई कम्युनिष्टको नाममा कालो धब्बा रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले एमाले–माओवादीहरू नाममा मात्रका वामपन्थी भएको आरोप लगाए । ‘एमाले र माओवादी कम्युनिष्ट पनि होइनन् ।

वामपन्थी पनि होइनन्’, उनले भने, ‘असली कम्युनिष्ट हामी हौँ । उनीहरू त दक्षिणपन्थी हुन् । सिद्धान्त बेचेर खाइसके ।’ दुई ठूला कम्युनिष्ट पार्टीले वाम गठबन्धन गरेर पार्टी एकीकरण गर्ने तयारी गरेका बेला तपाईको आरोपको अर्थ छैन ? भन्ने प्रश्नमा अध्यक्ष बैद्यले भने, ‘यो वाम गठबन्धन भने पछि दक्षिणपन्थी गठबन्धन हो । रुपमा वाम भएपनि उनीहरू वाम होइन ।’

पुष्पकलम दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीलाई उनले अवसरवादी नेता रहेको आरोप लगाए । उनले भने, ‘उनीहरू अवसरवादी हुन् । हामी उनीहरूसँग मिल्ने कुरै आउँदैन । गठबन्धनमा पनि जाँदैनौँ ।’अध्यक्ष बैद्यले ओली र प्रचण्ड भारतीय दलाल भएको प्रमाण आफूसँग अहिले पनि रहेको दाबी गरे । उनले आवश्यक पर्दा त्यो प्रमाण लिक गर्ने चेतावनी दिएका छन् ।