निरूता

कथा

यि परदेशी मान्छेको फन्दामा नपर है निरूता पछि धोका पाउलिस् । यि एनजीओमा काम गर्ने मान्छेहरूको के भरोसा नयाँ नयाँ कार्यक्रमहरू ल्याएर कति गाउँ चहार्दै हिँड्छन् । आज हाम्रो गाउँमा च्याउ खेतीको तालिम दिन आएका छन् । भोलि अर्को गाउँमा स्याउ खेती भनेर पुग्छन् । गाउँगाउँ चहार्दै हिँड्नेको के भरोसा ?

साउनको महिना शुक्ल पक्षको रात । सिमसिमे झरी पछि बाहिर आकाश सरक्क खुलेको हुन्छ। आकाशमा झकमक्क ताराहरू जूनको उज्यालोसँगै तरेली खेलिरहेका हुन्छन् । बेलाबेलामा सर्रसर्र आउने बतासका झोकाहरूले रूख बोटबिरूवाका डालाहरू हल्लिरहेका हुन्छन् । पातहरू लहराइरहेका हुन्छन् । तिर्थे किराहरू किरकिर गरेर रातको चकमन्नतालाई बिउँझार्इरहेका हुन्छन् । कतिखेर कुकुरहरू भुकेर गाउँको जिवन्ततालाई दर्साइरहेका हुन्छन्। बाहिर चोटामा निरूता खाटमाथि एउटा तन्नामात्र ओछ्याएर पल्टिरहेकी हुन्छिन् ।

 

जूनको शीतल स्पर्शमा निदाउने निरुताका हरप्रयत्नहरू  असफल भइरहेका हुन्छन् । उनको मन भरि अनेकौ तर्कनाहरू साउनको भेलझैँ एक पछि अर्को गर्दै उर्लिरहेका हुन्छन् …उफ् ….. आज पनि अमित.. ! सुइअ…लामो सास फेर्छिन् र कोल्टे फेर्छिन् निरुता । म एक हप्तामा नै फर्केर आउँछु भनेर गएको मान्छे ठ्याक्कै तीन महिना भयो ल । अत्तोपत्तो छैन । न फोन आउँछ न मेसेज । यताबाट जति फोन गर्दा पनि लाग्दैन । के भएको होला ? फोन हरायो कि ? बिग्रेको पो हो कि ? होइन फोन बिग्रेपनि बनाउनु पर्ने हो ! हराए पनि नयाँ किन्नु पर्ने हो । त्यत्रो ठूलो काठमाडौँ शहरमा एउटा जाबो फोन किन्न नपाउने र बनाउन नपाउने होला र ? फोनको घण्टी कुर्दै र मान्छेको बाटो हेर्दै म त अब थाकिसकेँ । सुइअ… लामो सास फेर्दै पुन: कोल्टे फेर्छिन् निरुता ।

यि परदेशी मान्छेको फन्दामा नपर है निरूता पछि धोका पाउलिस् । यि एनजीओमा काम गर्ने मान्छेहरूको के भरोसा नयाँ नयाँ कार्यक्रमहरू ल्याएर कति गाउँ चहार्दै हिँड्छन् । आज हाम्रो गाउँमा च्याउ खेतीको तालिम दिन आएका छन् । भोलि अर्को गाउँमा स्याउ खेती भनेर पुग्छन् । गाउँगाउँ चहार्दै हिँड्नेको के भरोसा ? भनेर त्यो उर्मिलाले त भन्दै थिई उतिबेला । मोरीले यस्तो राम्रो केटा पाउने भइ भनेर डाहा गरी होली भन्ने लाग्यो आफूलाई ! माया प्रीतिका कुरामा आफ्नै बहिनी त सौता बन्छन् भन्छन् । त्यो त झन् साथी ! मेरो मनमा शङ्का लाग्नु स्वभाविकै थियो । हुन पनि त्यो अमित त्यस्तै आकर्षक ठिटो थियो । सर्लक्क मिलेको जीउडाल । अग्लो गोरो हँसिलो मुहार । कस्तो अनारका दाना जस्ता हार मिलेका दन्त । मुसुक्क मुस्कुराउँदा त सर्लक्कै मुटु नै चुँडालेर लिने । उसलाई देखेर मन नदिने ! यौवन नसुम्पने को केटी होला ? हाम्रा गाउँका त सबै केटीहरू भुतुक्कै हुन्थे ।

कति त तालिममा च्याउ खेती सिक्न भन्दा पनि त्यही अमितलाई हेर्न पो आउँथे । मै पनि त त्यो तल्लो घरकी शिलाले ‘ओई निरुता तँलाई थाहा छ । गाउँमा च्याउ खेतीको तालिम चलिरहेको छ । हाम्रा गाउँका सबै केटीहरू तालिम लिन गएका छन् । तँ जाने होइन ? भनेर सोध्दा । जादिनँ हो जाँदिनँ । आफूलाई त आफ्नै खेती भ्याइनभ्याइ छ । फेरि कहाँको च्याउ खेती गर्नु हो उर्मिला । म त जाँदिनँ । तैँ जा’ भनेर जबाफ फर्काई बसेकी मान्छे म । पछि त्यो अमित गाउँलेको घरघरमैँ तालिमका लागि सम्झाउन आउँदा आफ्नै घर आगनमै पुगेपछि उसको विनम्म्र आग्रह , शालिन व्यक्तित्व र आकर्षक सौन्दर्य देखेर नाइँ भन्नै सकिनँ । कस्तो मीठो बोलेको अमितले ! मान्छेलाई सम्झाउन पनि कस्तो जानेको ! हाँसी हाँसी बोलेर सबैलाई लट्ठै बनाउने । सारै सोमत भएको मिजासिलो मान्छे । नचिनेकै भए पनि एक छिन छेउमा बसेर बात मारौँ जस्तो लाग्ने । चार हप्ताको तालिम कतिखेर सकियो पत्तो नै भएन । मनभित्र पिरतीको दियो कतिखेर जल्यो थाहा नै पाइन । दियो जलाउनेको न त घर सोधियो न त थर सोधियो उतिबेला ! सरक्क मन बाँधेर उसको पोल्टामा हाल्दिहालेँ । त्यही दियो अहिले आगो बनेर मन जलाइरहेछ ।

काठमाडौँ सहरमा गएर एउटा फ्लाइट भाडामा लिन्छु । अफिसको कामकाज पनि हेड अफिसतिरै मिलाएर आउँछु र अनि तिमीलाई लिएर जान्छु । दशैँ सम्ममा घरमा बाबाआमालाई मनाएर घर भित्राउँला ….! जानेबेलामा यस्तै कुराहरू सम्झाएर गएको थियो अमितले । एकैचोटि आफ्नो घरमा लाने आँट उसले गरेन । ऊ बाहुनको छोरो म गुरुङ्को छोरी । सायद उसको बाबुआमा कट्टर छन् क्यारे ! उसले कुरा खोलेन । मैले आफै अनुमान लगाएँ र जिद्दी पनि गरिनँ उतिबेला ! सोजो हुनु पनि अभिशाप नै हुने रहेछ कतिखेर त ! गाउँको हाईस्कुलबाट एस एल सी पास त मैले पनि गरेकी नै हुँ तर के गर्नु चाहिएको बेलामा बुद्धि नै नआएपछि यो पढेको पनि के काम भयो र खोइ ? अहिले आफैसँग वैराग लागेर आउँछ । सुइअ….. लामो सास फेर्छिन् निरुता र दुई हातको हत्केलाले आफ्नो पेटमा दुई तिरबाट मठारेर दबाउँछिन् । ऐया … दुखेको दर्द अनायास उनको ओठबाट फुस्कन्छ । निरुता झस्कन्छिन् । सुइअ…लामो सास फेर्दै अर्को कोल्टे फेर्छिन् । उनको मनमा चिन्ताले झन जरो गाड्दै जान्छ ।

के गर्नु ? छोटो समयमा हेलमेल पनि निकै बढ्दै गयो । माया पनि गहिरै बस्यो । विश्वास पनि धेरै गरेँ । एक दिन पनि अमितलाई देखेन भने , भेटेन भने कस्तो छटपटी लाग्थ्यो । मेरो यही चुलबुले मन , माया , विश्वास , समर्पण र घरमा एक्लोपनले होला अमितको जिद्दीको अगाडि मेरो केही जोर चलेन । उसले आफूले चाहेको चाहाना पूरा गर्यो । मैले आँसुको थोपा चुहाउनु सिवाय केही बोल्न सकिनँ ।मेरो आँसु आफ्ना कोमल औँलाहरूले सरक्क पुछ््दै ‘ तिमी किन चिन्ता गरेकी निरुता आखिर हाम्रो जिन्दगी एउटै हो ।

सँगै जिउने सँगै मर्ने वाचा त गरिसकेका छौँ नि । आखिर हामी दुई जना एक अर्काविना बाँच्न नसक्ने भइसकेका छौँ । परिस्थितिको सम्पूर्ण जिम्मेवारी म लिन्छु । तिमी मेरी हौ । मात्र मेरी । के तिमीलाई मेरो विश्वास लाग्दैन ? ‘ मैले मात्र मुन्टो हल्लाएँ प्रतिउत्तरमा । उसले मुसुक्क मुसुकुराएर निदारमा एक चुम्बन दियो । मैले भरोसाको लामो सास फेरेँ । त्यही भरोसाको चिनो आज मेरो जीवन मरनको कारण बनिरहेकोछ । आज ठ्याक्कै महिनावारी नभएको तीन महिना पुग्यो ल ! भरोसा दिने मान्छेको अत्तोपत्तो छैन ? हालसम्म त साथी सँगिनीहरूलाई नुछुने भएको बहाना बनाएर लुकाइरहेकी छु । यो कतिन्जेल लुकाउनु ? फेरि लुकाएर लुक्ने चिज भए पो ? गाउँघरमा यसै पनि कुराकाट्न थालिसकेका थिए । घरमा अमितको आवतजावत बढी देखेर ! अब त झन् यो पेट बढ्दै गएको देखे भने मलाई बसिखानु दिन्नन् ।

कतिन्जेल पटुकाले कसेर पेट लुकाउनु ? बाबा…बाबा.. सम्झ्यो भने सास नै निसासिएर आउँछ । बाबा आमाको अगाडि कुन नाकले मैले मुख देखाउनु ? जे भए पनि इन्डियाका लाहुरे । गाउँमा बाबाको इजत प्रतिष्ठा छ । जानेबेलामा ‘ ल है छोरी घर राम्रो सँग हेर्नु । आफ्नो ख्याल राम्रो राख्नु । खेतीपाती सबै खेताला लगाएर गर्नु । चाहिने जति पैसा छोडिदिएको छु । अब के गर्नु तिम्रो आमालाई यहाँ जति औषधि गर्दा पनि सन्चो भएन । अब एकचोटि उता इन्डियामा लिएर हाम्रो पल्टनको अस्पतालमा राम्रोसँग उपचार गरेर ल्याउँछु नानी ।

के गर्नु उमेर पुगेको छोरीलाई घरमा एक्लै छोडेर तिम्रो आमालाई लिएर जानु मन त थिएन । समस्याले त्यस्तै पार्यो । तिमी समेत लिएर तीनै जना जाउँ भने यो घर खेतीपाती कसलाई जिम्मा लगाएर जानु ? हेरिदिने अरू आफ्नो मान्छे कोही छैनन् बा ! तिमी गाह्रो नमानीकन राम्रोसँग घरमा बस ल छोरी ! ‘ बाबाले आशीर्वाद दिँदै भनेका यि शब्दध्वनिहरू निरूताका कानमा गुन्जन थाल्छन् । ‘ राम्रोसँग बस्नु दशैँ अगाडि नै म आइहाल्छु । घर राम्रोसँग हेर्नु । खेतीपाती बाउरे लगाएर जति गर्न सकिन्छ त्यति गर्नु । नसकेको बरु बाँजो नै रहला । घर राम्रोसँग हेर्नु ।

आफ्नो इज्जतमा बस्नु है छोरी ‘ आमाले गहभरि आँसु पारेर गाला मुसार्दै हिँड्ने बेलामा भनेको झझल्को आँखामा झल्झल्ती आउँछन् । निरुताको मन आकुल व्याकुल हुन्छ । उनी पानीविनाको माछा झैँ छटपटाउन थाल्छिन् । मन निसासिएर आउँछ । जीउ थरथर काम्न थाल्छ ।

रात छिपिँदै गइरहेको हुन्छ । आकाशमा सानासाना काला बादलका गुथुल्काहरू मडारिन थालेका हुन्छन् । जूनको उज्यालोसँग ईष्र्या गरेझैँ एक पछि अर्को ती बादलका गुल्थाहरू झ्याम्मिँदै जूनको सुन्दर मुहारलाई छेक्न खोजिरहेझैँ लाग्छन् । मन्दमन्द हावाको स्पर्श पनि निरूतालाई यतिखेर आगोको सोलाझैँ रापिलो पोल्ने लाग्छन् । निसासिएर छटपटिँदै निरुता जुरुक्क उठ्छिन् । त्यहीँ चोटाको कुनामा काटेको हरियो घाँससँगै घोप्ट्याएको डोकोमाथि चड्छिन् र आफूले ओडिरहेको सल चोटाको धुरीमा बाँधेर पासो गलामा छिराउँछिन् । खुट्टाले घचेटेर डोको हुत्याएकी मात्र के हुन्छिन् ठीक त्यही बेला तल खाट माथिको मोबाइलमा ट्रिङ्ग…. ट्रिङ्ग …. घण्टी बज्न थाल्छ । निरूता माथि धुरीको पासोमा झुन्डिसकेकी हुन्छिन् । उनका हातखुट्टा छिटिक् छिटिक् छट्किँदै हल्लिरहेका हुन्छन् । मोबाइलको घण्टी बज्न छोड्छ । निरुताका छिट्किरहेका हातखुट्टाहरू स्थिर भएर जान्छन् । एकैछिनमा खरखर मोबाइलमा मेसेज आउँछ ।

प्यारी निरुता

सायद तिमी मसँग रिसाएर फोन नउठाएकी हौली । मलाई थाहा छ यो मेसेज पढेर जरुर मलाई फोन गर्ने छौ । आज तीन महिनापछि होसमा आएको पहिलो क्षणमा नै तिमीलाई फोन गरेको । बस दुर्घटनामा परेर आई सी यु मा बेहोस भएर लडेको आज तीन महिना भयो रे भाइले भनेको । म चढेको बसका सबैजना यात्रुहरू मरे रे । मर्नबाँच्नको दोसाँदमा रहेर बाँच्ने म मात्र एउटा रहेछु । सायद हाम्रो मायाको वाचाले कालको मुखबाट बचायो होला । भयङ्कर कालको मुखबाट म बाँचेकोछु सिर्फ तिम्रा लागि ! तिम्रो स्वर सुन्न व्याकुल छु ।

तिम्रो अमित !
एकैछिनमा मेघ गर्जदै मुसलधारे वर्षा बर्सिन थाल्छ । एकोहोरो मोबाइलमा पुन घण्टी बज्न थाल्छ टरटर…….।