नेपालको नक्कली सरकारी छाप बनाउने बंगलादेशी नागरिक पक्राउ
प्रकासित मिति : २०७४ कार्तिक २९, बुधबार ०८:५९
प्रकासित समय : ०८:५९
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिसासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।
ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
प्रहरीले सान्तनासँग मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल/डिपार्चरको रवर स्टाम्प, बंगलादेशी राजदूतावास, काठमाडौँको रबर स्टाम्पलगायतका सामग्रीसहित बरामद गरेको छ।
सान्तनालाई काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा कीर्ते अपराध मुद्दामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।