स्वतन्त्र उम्मेदवारलाई जिताउन माओवादी केन्द्रको कार्यकर्तालार्इ यस्ताे निर्देशन

माओवादी केन्द्र सल्यानले जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारलाई जिताउने अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
जिल्ला संयोजक कर्णबहादुर बुढाथोकी ‘छहारी’ले मंगलबार विज्ञप्ति जारी गर्दै जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारीलाई स्वीकृत गर्न पार्टी केन्द्रलाई आग्रह समेत गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवारी बाँडफाँड अन्यायपूर्ण र जिल्लाका इमान्दार कार्यकर्ताहरुको घाटी नमिोठ्ने खालको भएका कारण आफूहरुले विद्रोही उम्मेदवार अगाडि सारेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

जिल्ला पार्टीमाथि भएको अन्यायविरुद्ध लड्न केन्द्रीय सचिवालय सदस्य टेकबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिन निर्देशन दिएको र सोहीअनुसार जिल्ला पार्टीले उम्मेदवार छनौट गरेर उम्मेदवारी दर्ता गराएको तर जिल्ला पार्टीलाई कुनै जानकारी नै नदिएर उम्मेदवार, प्रस्तावक, समर्थकलाई कारवाहीको लागि सिफारिस गर्नु गलत भएको विज्ञप्तिमा उल्लेख छ ।

संयोजक छहारीले विधि र विधान विपरित हचुवाको भरमा पार्टी अध्यक्ष प्रचण्डले गरेको कारवाही दुर्भाग्यपूर्ण रहेको संयोजक छहारीले बताए । “पार्टीको विधान अनुसार स्पष्टीकरण, चेतावनी, जिम्मेवारीबाट निलम्बन हुँदै कारवाही गर्नुपर्नेमा एकैपटक पार्टी सदस्यता नहरने गरी कारवाही गर्नु कति न्यायसंगत हो ? यो हामी सबैले सोँच्ने गम्भीर प्रश्नको रुपमा रहेको छ । जिल्ला पार्टीले अगाडि बढाएका स्वतन्त्र उम्मेदवारहरु र तिनका समर्थकमाथि हचुवाको भरमा घोषणा गरिएको कारवाही अन्यायमाथि अन्याय थप्ने दुर्भाग्यपूर्ण छ” छहारीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संयोकज छहारीले पार्टी केन्द्रले गरेको कारवाही फिर्ता लिएर जिल्ला पार्टीले अगाडि सारेका उम्मेदवारलाई स्वीकृत गर्न आग्रह समेत गरेका छन् । साथै, उनले प्रलोभन, डर, त्रास, धम्कीको प्रभावमा नपरी पार्टीले अगाडि बढाएका उम्मेदवारहरुलाई जिताउन पार्टीका सम्पूर्ण कमिटी, जनवर्गीय संगठन र आम जिल्लाबासी जनतसमुदायमा अपील समेत गरेका छन् ।

जिल्ला पार्टीको पछिल्लो विज्ञप्तिले एमाले र माओवादी केन्द्रका आधिकारिक उम्मेदवारलाई झन् अप्ठ्यारो पर्ने देखिन्छ ।
गठबन्धनको निर्णयले अन्याय गरेको भन्दै माओवादी केन्द्र सल्यानले प्रतिनिधिसभा नेता उमाकान्त शर्मा र प्रदेश सभाको लागि भीमप्रकाश शर्मा र जीतबहादुर पुनलाई स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।