प्रदेशको नामबाट अनिश्चित इम्बोस्ड नम्बर

देशभर गुडिरहेका २७ लाख ८३ हजार ४ सय २८ वटा सवारीसाधनमा प्रदेशको नामबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारी योजना अनिश्चित बनेको छ । ५ भदौ २०७४ मा अञ्चलको नामबाट इम्बोस्ड नम्बर प्लेट लगाउन थालेसँगै चर्को विरोधले रोकिएको इम्बोस्ड नम्बर प्लेट पुनः प्रदेशको नामबाट नभई प्रदेश नम्बर राखेर वितरण गर्न सुरु गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले तत्कालका लागि प्रदेश नम्बर ३ को ललितपुरबाट प्लेटमा क्तबतभ घ राखेर २० कात्तिकदेखि इम्बोस्ड नम्बर प्लेट जडानको आह्वान गरेको छ । यससँगै प्रदेशको नामबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने तयारी तत्काललाई सकिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तत्काल प्रदेशको नामांकन हुने सम्भावना नभएकाले अहिले विद्यमान प्रदेश नम्बरअनुसार वितरण थालिएको उनको भनाइ छ ।

विभागले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६८ अनुसार ऐनको अनुसूची २ मा बुँदा थपेर इम्बोस्ड नम्बरमा प्रदेश नम्बर उल्लेख हुने गरी संशोधन गरेको छ । ‘सवारीसाधनहरूमा प्रयोग गरिने इम्बोस्ड सवारी नम्बर प्लेटमा प्रदेशको नामांकन नभएसम्म प्रदेश नम्बर उल्लेख गर्नुपर्नेछ र प्रदेशको नामांकनपश्चात् विभागले तोकेबमोजिम प्रदेश नम्बरको सट्टा प्रदेशको नाम उल्लेख गर्नुपर्नेछ,’ संशोधनमा उल्लेख छ । विभागले प्रदेश नम्बरबाट प्रदेशको नाममा इम्बोस्ड नम्बर प्लेट परिवर्तन गर्दा थप आर्थिक भार नपर्ने दाबी गरेको छ । अहिलेको इम्बोस्ड नम्बर प्लेटमा पछि निर्णय हुने प्रदेशको नाम उल्लिखित स्थायी स्टिकर टाँस गरे पुग्ने प्रवक्ता पाण्डेले बताए ।

सरकारले यसअघि इम्बोस्ड नम्बर प्लेट जडान गरिसकेका ८ सवारीसाधनमा पुनः प्रदेशको नम्बरअनुसार जडान गरिने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईसहित ८ जनाको सवारीमा अञ्चलको नाममा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको थियो । विभागले ५ भदौदेखि इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउँदा ती सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको थियो ।

सरकारले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य तोकिएको समयभन्दा ६ महिना १५ दिन ढिला गरी दोस्रोपटक कार्यान्वयनमा ल्याएको छ । दोस्रोपटक सोमबार (२० कात्तिक) देखि प्रदेश नम्बर राखेर इम्बोस्ड नम्बर प्लेट जडान सुरु गरेको हो । यसअघि पहिलोपटक जडान सुरु गर्दा अञ्चलको नामबाट वितरण थालिएको थियो । पहिलोपटक गएको ५ भदौमा सरकारले पहिलोपटक तोकिएको समयभन्दा ४ महिना ढिलो गरी कार्यान्वयनमा ल्याएको थियो ।

तीन र चारपांग्रेबाट सुरु

सोमबारदेखि प्रदेशको नम्बरअनुसारको वितरण प्रक्रिया थालिएको सवारीसाधनमा बागमती अञ्चलअन्तर्गत दर्ता रहेका सरकारी, संस्थान र निजी तीनपांग्रे र चारपांग्रे साना सवारी, मझौला सवारी र ठूला सवारी रहेका छन् । इम्बोस्ड नम्बर जडान गर्न सवारीधनीले वा संस्थाले आवेदन दिनुपर्नेछ । आवेदन दिएको एक हप्ताभित्र इम्बोस्ड नम्बर प्लेट प्राप्त हुने विभागको भनाइ छ । सरकारको योजनाअनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएको ५ वर्षभित्र देशभरका सबै सवारीसाधनमा प्लेट जडान गरिसकिनेछ ।