दुई सय ५८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता

देशभरी बागी उम्मेदवार बनेका दलका नेताहरुले अन्तिम समयमा पार्टीलाई समर्थन गरेका छन् । निर्वाचन आयोगका अनुसार दुई सय ५८ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगले आइतबार एक बजेसम्म उम्मेद्वारी फिर्ता लिनका लागि समय दिएकोमा २ सय ५८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अब प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि ४ हजार ४ सय ८३ जना उम्मेदवार चुनावी मैदानमा छन् । दोश्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभाका लागि १ सय २८ पद र प्रदेशसभातर्फ २ सय ५६ पदका लागि चुनाव हुने छ । मंसिर १० गते ३२ जिल्लामा हुने पहिलो चरणको चुनावका लागि भने ७ सय जना भन्दा धेरै उम्मेदवार चुनावी मैदानमा छन् ।

आइतबार उम्मेदवारले नाम फिर्ता लिएपछि बाँकी रहेका उम्मेदवारको नामावली सार्वजनिक गरेर आयोगले उम्मेदवारलाई चुनाव चिन्ह दिएको छ । दलका आधिकारिक उम्मेदवारले दलको आधिकारिक चुनाव चिन्ह र स्वतन्त्र उम्मेदवारले अरु चुनाव चिन्ह पाएका छन् ।