अधिकांश उम्मेदवार ‘दलबदलु’
सर्लाही : २०७४/२०४६ को परिवर्तनपछि रामेश्वर राय यादव सरकारी जागिर छाडेर सद्भावना पार्टीमा लागे। २०५२ मा पहिला कानुन अनि समाजकल्याण र वनमन्त्री बने। उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमलाई राजनीतिक दल बनाएपछि उनी त्यतै घर सरे। विजय गच्छदारले जब फोरम फुटाएर लोकतान्त्रिक फोरम बनाए, यादव उतै जोडिए। पार्टीमा गच्छदारपछिको भूमिकामा (वरिष्ठ उपाध्यक्ष) रहेका उनी गत स्थानीय तह निर्वाचनताका सपरिवार माओवादी केन्द्रमा प्रवेश गरे। छोरा विक्रमलाई तत्काल माओवादीबाट टिकट दिलाएर चक्रघट्टा गाउँपालिकाको अध्यक्ष बनाए। नवप्रवेशी उनै रामेश्वर माओवादीबाट सर्लाही ३ को प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएका छन्। आफूले ‘बिग जम्प’ गरेको (ठूलो फडको मारेको) विशेषण दिने यादव स्वयं निर्वाचनको मैदानमा ‘केही असहज’ महसुस गरिरहेका छन्। ‘यो पृथ्वीको एक ध्रुबबाट अर्कामा गएजत्तिकै हो।
तर म जस्तो वातावरणमा पनि भिज्ने र रम्ने व्यक्ति भएकाले हुनुपर्ने जति असहजता भएको छैन,’ उनले भने, ‘वाम गठबन्धनका कार्यकर्ताबाट पनि उत्साहजनक सहयोग पाइरहेको छु।’ यादव मात्र होइन, माओवादीबाटै सर्लाही ४ मा प्रतिस्पर्धा गरिरहेका शिवपुजन राय राजपाका केन्द्रीय सदस्य थिए। चुनावका बेला पार्टी फेरेका उनले माओवादीमा रगत–पसिना बगाएका धेरैलाई पछि पार्दै सजिलै टिकट पाए। राजपाकै जिल्ला अध्यक्ष मण्डल छाडेर आएका दिनेश यादव अर्का भाग्यमानी हुन्, जसले सर्लाही २ बाट माओवादीको उम्मेदवारी पाए। रोचक संयोग नै मान्नुपर्छ– सर्लाहीबाट माओवादीले प्रतिनिधिसभा र प्रदेशसभामा गरी ९ जनालाई उम्मेदवार बनाएको छ, सबै आयातित अर्थात् अन्य पार्टीबाट आएका। कांग्रेसले पनि जिल्लाका ४ क्षेत्रमध्ये दुइटा प्रतिनिधिसभाका र दुइटा प्रदेशसभाका गरी ४ जना आगन्तुकलाई उम्मेदवार बनाएको छ।
वाम गठबन्धनको बाँडफाँडमा क्षेत्र १ एमालेको भागमा पर्यो। माओवादीबाट उक्त क्षेत्रमा उठ्ने आसमा रहेका शम्भुलाल श्रेष्ठको बाटो नै थुनियो। माओवादीबाट सांसद र ऊर्जा राज्यमन्त्री भइसकेका उनी अन्तत: कांग्रेसमा पसे र त्यहींबाट टिकट पाए। कांग्रेसबाट क्षेत्र २ को प्रतिनिधिसभामा भिडिरहेका जंगीलाल राय राजपाका महामन्त्री थिए। चुनावअघि पार्टी बदलेका उनलाई आउँदाआउँदै ठूलै अवसर मिल्यो। त्यहाँ कांग्रेसका जिल्ला सभापति नागेन्द्रकुमार राय मुख्य आकांक्षी थिए। ‘सर्लाही २ मा कांग्रेस कमजोरै थियो। जंगीलालजीले यता आएर उठ्ने चाहना राख्नुभयो। जित्न सक्नुहुन्छ भनेर म ब्याक भइदिएँ,’ सभापति रायले भने, ‘जित्नुपर्ने र वाम गठबन्धनलाई तोड्नुपर्नेजस्ता कारण पार्टीले यस्ता उम्मेदवार खोजेको हो। यसले कार्यकर्ता पंक्तिमा खुसी नै छाएको छ।’
प्रदेशमा पनि आगन्तुकै आगन्तुक
माओवादीबाट सर्लाही १ (ख) मा प्रतिस्पर्धा गरिरहेका रामचन्द्र कुसबाह राजपाबाट, २ (क) का राजकुमार यादव राजपाबाटै, २ (ख) का सुरेश साह कांग्रेसबाट र ४ (ख) का रासनारायण राय राप्रपाबाट आएका हुन्। एमालेबाट गाविस अध्यक्ष जितेका फकिरा महतो पछि सद्भावनामा प्रवेश गरे। त्यसलाई पनि छाडेर केही वर्षअघि माओवादीमा आएका उनी ४ (क) बाट उम्मेदवार बनाइएका छन्। ३ (ख) बाट उठाइएका रामबाबु सिंह कुसबाहको पृष्ठभूमि पनि मधेसवादी दल नै हो। उनी केही वर्षअघि तमलोपा छाडेर माओवादीमा आएका थिए।
कांग्रेसतर्फ ३ (ख) का कृष्णदेव यादव संघीय फोरमबाट आएका हुन् भने २ (क) मा उठाइएका नागेन्द्रप्रसाद यादव स्वतन्त्रबाट मलंगवा नगरपालिकाको दुई पटक मेयर भए। गत स्थानीय तहमा पनि स्वतन्त्रैबाट मेयरमा उठेका थिए, कांग्रेसका निरसल साहसँग थोरै मतान्तरले हारे। संसदीय चुनावमा भने आफैंलाई हराउने कांग्रेसमा पसेर प्रदेशसभामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतिनिधिसभामा १ र प्रदेशमा २ गरी ३ वटा उम्मेदवारी भागमा पाएको एमालेले भने आयातित खोजेको छैन। मधेसवादी दलको तालमेल भएकाले त्यहाँ पनि उम्मेदवार यता–उता भएका छैनन्।
आकांक्षी निराश
माओवादीले क्षेत्र ३ मा बाहिरबाट ल्याएर रामेश्वर रायलाई टिकट दिएपछि त्यही क्षेत्रका प्रबल दाबेदार माओवादीका राजकुमार राय आक्रोशित भएका छन्। नवप्रवेशीलाई टिकट दिएर इमानदार कार्यकर्तामाथि पार्टीले अन्याय गरेको उनले गुनासो गरे। १५ वर्षदेखि माओवादी राजनीतिमा क्रियाशील उनले इमानदारीपूर्वक पार्टीको झोला बोक्नु अर्थहीन रहेको बिलौना सुनाए। ‘जनयुद्धमा भाइ गुमाएँ,’ उनले भने, ‘पार्टी संगठन मजबुत बनाउन लगातार मेहनत गरें। संगठन बलियो भएपछि नवप्रवेशीलाई टिकट दिनु अन्याय हो। यो अन्यायले दिएको पीडा व्यक्त गर्ने मसँग कुनै शब्द छैन।’ पार्टी निर्णय ‘काम गर्ने कालु मकै खाने भालु’ जस्तै भएको उनको टिप्पणी छ।