कब्रिस्तानलाई व्यवस्थित गर्न मुस्लिमहरु संगठित हुदै

 नेपालगंजमा वर्षौ देखि प्रयोगमा रहेको मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तान अहिले व्यवस्थित गराउन मुस्लिम समुदायहरू संगठित भएका छन । नेपालगंज उपमहा नगरपालिका–४ मा रहेको कब्रिस्तानलाई थप फराकिलो बनाउनका लागि ७ कट्ठा जग्गा खरिद गरी घेराबार गरेपछि व्यवस्थित बनेको कब्रिस्थान पछिल्लाे समय ब्यवस्थीत बन्दै अाएकाे छ । करिब ६० कट्ठा क्षेत्रफलमा फैलिएको कब्रिस्तानको पुरै भाग घेराबार गरेपछि मुहार फेरिँदै गएको छ । 

जनसंख्या बृद्धि संगै कब्रिस्तानको क्षेत्रफल बढाउनका लागि कब्रिस्तान संरक्षण समितिले गरेको लामो प्रयास पछि ७ कट्ठा जमिन करिब ९१ लाखमा खरिद गर्न सफल भए पनि जमिनको पूरा पैसा भुक्तान गर्न नसकेको समितिले बताए पछि नेपालंगजका मुस्लिमहरुले चन्दा मार्फत उक्त जमिनको रकम भुक्तान गर्ने भएका छन् ।

शनिबार नेपालगंजमा भेला भएका मुस्लिमहरुलाई समितिका महासचिव मोहम्मद हारुन हल्वाईले कब्रिस्तानको अवस्थाका बारेमा प्रकाश पार्नु भएको थियो भने मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष अतहर हुसेन फारुकीले जमिन खरिद गरे बापतको रकमका बारेमा प्रष्ट पार्नु भएको थियो । मुस्लिम समुदायको दाहसंस्कार गर्ने कब्रिस्तानका विषयमा आफूहरु संबेदनशील रहेको बताउदै एमालेका नेता पशुपतिदायल मिश्राले कब्रिस्तानलाई व्यवस्थित गर्न आफू सक्दो सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

यस्तै पहिलो संबिधान सभाका सदस्य एंव पूर्व श्रम तथा यातायात मन्त्री मोहम्मद इस्तीयाक राईले हिन्दु र मुस्लिम बिचको सम्बन्ध निकै दरिलो रहेकोले नेपालगंजको कब्रिस्तानलाई नमूना कब्रिस्तान बनाएर देखाउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । समितिका अध्यक्ष मो.याकुब अन्सारीको अध्यक्षतामा बसेको बैठकमा बिभिन्न दलका नेता तथा नेपालगंजका मुस्लिमहरु को सहभागिता रहेको थियो ।