गोविन्दराज जोशीको उम्मेद्वारी खारेज, सिलवालविरुद्ध परेको उजुरी पनि खारेज
निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १बाट स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशीको उम्मेद्वारी खारेज गरेको छ । आयोगले शनिवार उम्मेद्वारहरुविरुद्धको उजुरीको छानविन गर्दै जोशीले निर्वाचन ऐन अन्तर्गन नैतिक पतन हुने काम गरेको भन्दै उम्मेदवारी खारेज गरेको हो ।
बिहीवार सम्पन्न दोश्रो चरणको निर्वाचनको उम्मेद्वारी मनोनयन दर्तापछि आयोगले शुक्रवार उम्मेद्वारी विरुद्ध परेको उजुरीको शनिवार छानविन गर्दै तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेद्वारी दिएका जोशीको उम्मेद्वारी खारेज गरेको हो ।
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल स्वयंले जोशी विरुद्ध दर्ता गराउनुभएको उजुरीलाई अध्ययन गरेर आयोगले शनिवार भ्रष्टाचारको मुद्धा खेपिरहेको व्यक्ति र नैतिक पतन हुने काम गरेको व्यक्ति उम्मेद्वार हुन नसक्ने ठहर गर्दै जोशीको उम्मेद्वारी खारेज गरेको छ ।
यता ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका एमाले उम्मेद्वार बनेका पूर्व डिआईजी नवराज सिलवालविरुद्ध परेको उजुरी समेत खारेज भएको छ । आयोगले शनिवार उजुरीहरुलाई अन्तिम रुप दिँदै सिलवालविरुद्ध परेको उजुरी खारेज गर्दै उम्मेद्वारी दर्ता गराएको छ ।
त्यसैगरि मुख्य निर्वाचन अधिकृतको कार्यालय, विराटनगरले मोरङ क्षेत्र नं–६ को प्रदेश (ख)मा राष्ट्रिय जनता पार्टीबाट प्रदेश सभामा उम्मेदवारी दर्ता गराएका मोहम्मद नशरुल मियाँको मनोनयनपत्र शनिबार खारेज गरेको छ ।
पार्टीबाट आधिकारिक उम्मेद्वार नसरुल मियाँ नरहेको भन्दै यदुवंश साह हलुवाईले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका थिए । राजपाका संयोजक महन्थ ठाकुरको हस्ताक्षरसहित पत्र प्राप्त भएपछि मियाँको मनोनयनपत्र खारेज गरिएको छ । आयोगले धेरै जसो बागी उम्मेद्वार परेकाहरुमाथि नै उजुरी परेको जनाएको छ ।