जननिर्वाचित राष्ट्राध्यक्ष र सनातन हिन्दूराष्ट्रकाे लागि राष्ट्रवादी वैकल्पिक गठबन्धन
राष्ट्रवादी वैकल्पिक गठबन्धनले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । ‘नेपालवाद, नेपालीतन्त्र, नेपाली राष्ट्रवाद’ लाई मूल मन्त्र बनाएको संघ र प्रदेश सभा सदस्यको लागि एउटै चुनाव चिन्हमा उम्मेदवारी दिएको छ । विभिन्न साना दल मिलेर बनेको गठबन्धनले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।
गठबन्धनमा ३३ दलिय मोर्चा, हाम्रो पार्टी नेपाल, संघीय विकास पार्टी, अखण्ड सुदूरपश्चिम पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, आम आद्मी पार्टीलगायत २५ पार्टीहरु गठबन्धनमा सहभागी छन् । २८ बुँदाको १३ पेज लामो घोषणापत्रमा सनातन हिन्दूराष्ट्र र जननिर्वाचित राष्ट्राध्यक्षलाई शासकीय स्वरुपलाई चुनावी एजेण्टा बनाएको गठबन्धनले राज्य-सत्ता धर्ममा निरपेक्ष हुनुपर्ने घोषणापत्रमा उल्लेख छ ।
गठबन्धनले नेपालवाद’लाई दर्शन-सिद्धान्तमा आधारित नेपाली मौलिक ‘नेपालीतन्त्रात्मक’ राज्य–व्यवस्थाको निर्माण, सञ्चालन, विकास र सुदृढीकरण गर्दै, ‘नेपाली राष्ट्रवाद’लाई विस्तार र सवलीकृत गरिने घोषणापत्रमा उल्लेख छ । त्यसैगरी गठबन्धनले समानतामूलक समावेशीको आधारमा ‘जननिर्वाचित राष्ट्राध्यक्ष’ शासकीय स्वरुप बनाउँदै एक सदनात्मक थोरै संख्याको सानो आकारको ‘राष्ट्रिय जनप्रतिनिधि सभा’ को कल्पना घोषणापत्रमा गरिएको छ ।
पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक गोरख बिसीले देशभक्तिको लागि सबै नेपाली एक हुन आह्वान गरे । उनले ठूलो दलहरुले राम्रा नारा दिने तर विदेशीको गुलामी गर्न पुगेका कारण नेपालको राष्ट्रियता खतरामा परेको बताए । गठबन्धनको एक घटक ३३ दलीय मोर्चाका संयोजक सोभराज थापाले वैकल्पिक शक्ति निर्माणको लागि चुनावमा जान लागेको बताए । ठूला दलको गैरराजनीतिक र सत्ता स्वार्थका कारण देश फिजिकरणमा अगाडि बढेको बताउँदै थापाले भने, “वाम र लोकतान्त्रिक गठबन्धन बाह्य शक्तिले निर्माण गरिदिएको छ । उनीहरुको चाहना नेपाललाई उपनिवेश बनाउने उद्देश्य छ, त्यसलाई परास्त गर्न यो गठबन्धन जन्मिएको हो ।” उनले हिन्दू राष्ट्र नेपालको पहिचान भएको समेत बताए ।
कार्यक्रममा आम आद्मी पार्टीका अध्यक्ष निलकण्ठ पौडेलले नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको परनिर्भरताका कारण राष्ट्रवादी गठबन्धनको विजारोपण भएको बताए । “ठूला भनिएका दलहरुले चुनावमा मात्र जनता चाहिन्छ, चुनाव जितेपछि विदेशी शक्तिको सेवा गर्न थाल्छन्, चुनावको बेला रकेटका कुरा गर्छन, चुनाव सकिएपछि भ्रष्टाचारमा लिप्त हुन्छन्” पौडेलले भने । उनले ठूला दलले समावेशीका नाममा परिवार, पैसावाललाई भर्ती गर्ने गरेको आरोप लगाउँदै आफूहरुले सबै क्षेत्र, वर्ग, अशक्त, अपांगता भएका ब्यक्तिहरुलाई सहभागीता गराएको बताए ।
त्यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन, नेपालका अध्यक्ष जयवन्त विक्रम शाहले नेपालवाद र नेपालीतन्त्र र नेपाली राष्ट्रवादसहितका मौलिक राजनीतिक सिद्धान्तका आधारमा राष्ट्रवादी वैकल्पिक गठबन्धन निर्माण भएको जानकारी दिए । “हामी मौलिक सिद्धान्तका आधारमा अगाडि आएका छौं । ठूला भनिएका पार्टीजस्तो भन्ने एउटा र गर्ने अर्कै हामीबाट हुँदैन, हामी नीतिअनुसारको व्यवहार गर्छौं” शाहले भने । उनले आफूले अगाडि सारेको विचारले नेपालको राष्ट्रवादी आन्दोलनमा नयाँ आयम थप्ने दाबी गरे ।
हाम्रो पार्टी नेपालका अध्यक्ष गोविन्द बोहोरा ठूला दलहरुका कारण नेपालको अस्तित्व नै समाप्त हुने गरी वैदेशिक हस्तक्षेप बढेको बताए । “नेपालमाथिको वैदेशिक हस्तक्षेपबाट मुक्त गर्न हामीले ‘हराएको नेपाल खोजौं, लुकाइएको नेपाल खोसौं’ नाराका साथ जनतामा जाँदैछौं” बोहोराले भने । उनले काँग्रेस, एमाले र माओवादी केन्द्रको नीतिका कारण नेपालको सार्वभौमसत्ता दिल्लीको हातमा रहेको दाबी गरे ।
गोलाकारभित्रको षट्कोण चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेको गठबन्धनले संघ र प्रदेश गरी २२० भन्दा समानुपातिक र ४५ जना प्रत्यक्ष तर्फबाट उम्मेदवार बनाएको संयोजक बिसीले जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गठबन्धनले लक्ष्मी भट्टलाई उम्मेदवार बनाएको छ । त्यसैगरी एमाले अध्यक्ष केपी ओलीविरुद्ध पनि गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ ।
कार्यक्रमको संचालन गठबन्धनका नेता केशव बहादुर बमले गरेका थिए ।