शोकाकुल सप्तरीबासी : कोसीमा मिसियो आँसुका धारा

धादिङस्थित त्रिशूलीमा शनिवार राजविराजको यात्रुबाहक बस खस्दा सप्तरीका २४ जनाको निधिन भएको थियो । जसमध्ये अधिकांशको शव आइतवार सप्तरी ल्याइएर अन्त्येष्टी गरिएको छ । धादिङको गजुरी गाउँपालिकास्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख १४६७ नम्बरको यात्रुबाहक बस खस्दा ३१ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । मृतकमध्ये २४ जना सप्तरीको भएको र उनीहरुको सनाखत भइसकेको छ । यस्तै अधिकांश घाइते र वेपत्ता भएकामध्ये दुई जना सप्तरीकै छन् ।

मृतकमध्ये तिलाठीका ससुरालीपक्षसहित एकै परिवारका ६ जनाको आईतवार अन्त्येष्टी गरिएको छ । तिलाठीका सन्जित झा र पत्नी सिम्मीको शवलाई एकसाथ कोसी नदीमा अन्त्येष्टी गरियो । जेठो छोरा अभिनव र भाई अंजितको अन्त्येष्टी छुट्टै गरियो । सबैलाई दागवत्ती सन्जितका माहिलो भाई मन्जितले दिए । यस्तै सन्जितका सासु चन्द्रावती र सालो आदित्यलाई गोठमस्थित गाउँमा अन्त्येष्टी गरिएको छ । सन्जितका कान्छो छोरा प्रतिक र साली पूजा अझ त्रिशूलीमै वेपत्ता छन् ।

यसैगरी बोदेबर्साइन नगरपालिका ३ फुलहार निवासी एवं काभ्रेपलाञ्चौकमा शिक्षण पेशा गर्दैआएका चतुरनारायण प्रमाणीकी चार छोरी चन्द्ररेखा, चन्द्रलेखा, चित्ररेखा र चित्रलेखा प्रमाणीको पनि आईतवार कोसी नदीमा अन्त्येष्टी गरियो । भने राजविराज निवासी नेपाली सेनामा कार्यरत ऋषि देवको पनि कोसीमा अन्त्येष्टी गरिएको छ ।

दुर्घटनामा सप्तरीका २४ जनाको मृत्यु भएको शोकमा आईतवार सप्तरीका सबै ९ वटै नगरपालिका र ९ वटै गाउँपालिकाहरु बन्द गरियो । यस्तै जिल्लाका सम्पूर्ण शिक्षण संस्था पनि आईतवार शोकले गर्दा बन्द रह्यो । यसैबीच दुर्घटनामा परी तिलाठीका सन्जित परिवारका अधिकांश सदस्यको मृत्यु भएपछि उनको बुवा–आमालाई बुढेसकालमा जिवन निर्वाह गर्ने समस्या भएको छ । तिलाठीबासिले मृतक परिवारहरुलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग सरकारसँग गरेका छन् ।

यस्तै आइतवार साँझ राजविराजमा मृतकहरुको सम्झनामा श्रद्धाञ्जली अपर्ण गर्न सर्वपक्षीय मैनबत्ती प्रज्वलन गरिएको छ । उक्त क्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी पाण्डे, प्रहरी प्रमुख मुकेश सिंह, नगर प्रमुख शम्भु यादव, उपप्रमुख साधना झा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, पत्रकार, अधिकारकर्मी तथा सप्तरी यूथका यूवा र स्थानीयहरुको उल्लेख्य सहभाति थियो । नयाँ पत्रिकाबाट