काँग्रेसभन्दा कम्युनिष्ट गठबन्धनविरुद्ध बागी धेरै
काँग्रेसभन्दा कम्युनिष्ट गठबन्धनविरुद्ध बागी धेरै
काठमाडौं । संबिधान जारी भएपछि पहिलो पटक हुन लागेको प्रतिनिधी सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धेरै ठाँउमा असन्तुष्ट पक्षबाट उम्मेदबारी दर्ता भएको छ । उम्मेदबारी दर्ता गर्दा काँग्रेस नेतृत्वको गठबन्धन भन्दा कम्युनिष्ट गठबन्धन विरुद्ध धेरै बागी उम्मेदबार देखिएका छन् ।
जाजरकोटमा माओवादी नेता तथा पुर्वगृहमन्त्री बस्नेतलाई धराप
जाजरकोटमा वामपन्थी गठबन्धनका साझा उम्मेदवार माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छाडेको भन्दै एमाले नेता शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
माओवादी नेता एवं पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत जाजरकोटमा एमाले माओवादीका साझा उम्मेदवार हुन् ।
तर, राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले यसपटक टिकट पाउने अपेक्षा गरेका थिए । एमालेले माओवादीलाई सघाएपछि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
शाह जिल्लामा सामान्य जनाधार भएकै पूर्वपञ्च मानिन्छन् । उनले ०५६ सालमा राप्रपाबाट सांसद जितेका थिए ।
जाजरकोटमा प्रतिनिधिसभा शक्ति बस्नेतलाई छाडेर प्रदेशसभाको दुवै सिट पाएको एमालेले उम्मेदवारी दर्ता गरिसकेपछि प्रदेश (क) माओवादीलाई छाड्ने सहमति भएको छ । यसबाट एमालेभित्र भाँडभैलो मच्चिएको छ ।
एमालेका युवा नेता निरज आचार्यलाई उम्मेवारी फिर्ता लिन निर्देशन गएपछि कार्यकर्ताले विद्रोहको चेतावनी दिएका छन् । प्रदेश (क) मा एमाले र माओवादी दुबै दलका छुट्टै उम्मेदवारी परेको छ । साझा उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका तर्फबाट आचार्यले बागी उम्मदेवारी दिएका हुन् ।
रामेछापमा माओवादीका तीन वागी उम्मेदवार
गठवन्धनमा आफ्नो भागमा परेको रामेछापमा माओवादी केन्द्रले टिकट वितरण मिलाउन नसक्दा समस्या परेको छ । विनाविभागीय मन्त्री श्यामकुमार श्रेष्ठ केन्द्रीय संसदका लागि गठवन्धनको आधिकारिक उम्मेदवार भएपनि असन्तुष्ट माओवादीका तीन जनाले वागी उम्मेदवारी दर्ता गरेका छन् ।
श्रेष्ठ विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दिएकी छिन् । त्यस्तै प्रदेशसभातर्फ(क) मा माओवादीका हेमन्त पौडेल वागी भएका छन् । सो क्षत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा उम्मेदवार बनेकी थिइन् । त्यस्तै प्रदेश सभा खमा माओवादी नेता मैनकुमार मोक्तानले वागी उम्मेदवारी दिएका छन् ।
एमाले विरुद्ध दिपक मनाङेको उम्मेदबारी
मनाङबाट प्रदेश सभाका लागि एमालेबाट सिफारिस भएका गुण्डा नाईके दीपक मनाङेले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले प्रदेशसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । जिल्लाबाट सर्वसम्मत रुपमा एमालेको उम्मेदबारका रुपमा सिफारिस भएका मनाङेले अन्तिम समयमा टिकट नपाएपछि एमाले विरुद्ध नै बागी उम्मेद्वारी दिएका छन् । उक्त निर्वाचन क्षेत्रमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी पनि मनाङेसँगै राप्रपाबाट एमालेमा प्रवेश गरेकी थिइन् ।
बाग्लुङमा एमाले र माओवादी दुवैका बागी
पहिलो चारण अन्तरगत मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि बाग्लुङमा पनि कम्युनिष्ट गठबन्धन विरुद्ध बागी उम्मेदबार खडा भएका छन् । साझा उम्मेदवार अघि सरेको एमाले र माओवादी भित्र गठबन्धका उम्मेदवारप्रति असन्तुष्टि व्यक्त गर्दै बागी उम्मेदबारहरुले मनोनयन दर्ता गरेका हुन् । निर्वाचन क्षेत्र नम्बर–२ को प्रतिनिधि सभा सदस्यमा माओवादी र प्रदेश सभा सदस्यमा एमालेबाट स्वतन्त्र उम्मेदवारी परेको हो ।
प्रतिनिधि सभाका लागि दुई निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि चार निर्वाचन क्षेत्र भएको बागलुङमा तीन कम्युनिष्ट पार्टी मिलेर चुनावि मैदानमा उत्रेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले कम्युनिष्ट गठबन्धनबाट साझा उम्मेदवारी दिए भने काँग्रेसले एकल उम्मेदवारी दर्ता गरेको छ ।
दोलखामा अन्याय भएको भन्दै एमालेबाट बागी उम्मेदबार
एमालेले आफूलाई पटक पटक धोका दिएको र अन्याय गरेको भन्दै दोलखाका एमाले नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदबारी दिएका छन् । आफूमाथि बारम्बार अपमान भएको भन्दै केसीले विद्रोह गरेर आफू स्वतन्त्र उम्मेदवार बन्न नचाहेरै कम्युनिस्ट पार्टीको तर्फबाट चुनाव लडेको बताएका छन् । एमालेका प्रभावशाली नेता केसी प्रदेश (ख) को उम्मेदवारका लागि सिफारिस भएका थिए भने ०५४ सालमा दोलखा जिल्ला विकास समितिको सभापतिसमेत बनेका केसी ०६४ र ०७० मा पनि सभासदको दाबेदार थिए ।
तर, दुवै चुनावमा आनन्द पोखरेलले टिकट पाएपछि केसीप्रति एमाले कार्यकर्ताको सहानभूति थियो । उनले यसपटक टिकट पाउने सम्भावना थियो । तर, अन्तिम घडीमा पोलिटव्यूरो सदस्य पशुपति चौलागाई प्रदेश (ख) को उम्मेदवार बन्न काठमाडौंबाट दौडेर दोलखा पुगेपछि केसीले टिकट नपाएका हुन् । एमाले नेता चौलागाई प्रतिनिधिसभाको उम्मेदवारका दाबेदार थिए । तर, केपी ओली पक्षका प्रभावशाली युवा नेता पार्वत गुरुङले दोलखामा प्रतिनिधिसभाको टिकट पाएपछि चौलागाई प्रदेशसभा भए पनि नछाड्ने भन्दै आफ्नो क्षेत्र छाडेर अर्को क्षेत्रमा उम्मेदवार बन्न पुगेका हुन् ।
बझाङमा एमालेका दुई जना बागी
बझाङमा एमालेबाट टिकट वितरणमा रुष्ट पक्षबाट दुईजनाले बागी उम्मेवारी दर्ता गराएका छन् ।
एमालेको तर्फबाट गोपालबहादुर खड्काले प्रतिनिधि सभा र शेरबहादुर बोहराले प्रदेश सभा निर्वाचन क्षेत्र नं (क) को लागि बागी उम्मेदवारी दिएका छन् । उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रीय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका छन । यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएका छन् ।
बागी उम्मेदवारी दर्ता गर्दै प्रतिनिधी सभाको लागी बागी उम्मेदवारी दिएका गोपाल खड्काले लोकतान्त्रिक पार्टी भन्ने तर लोकतान्त्रिक अभ्यासको कदर नभएका कारण आफुले बागी उम्मेदवारी दिनु परेको बताएका छन् । उम्मेदवार सिफारिसका क्रममा नेकपा एमालेको निर्वाचन क्षेत्रीय कमिटिमा भएको निर्वाचनमा प्रदेश सभाको लागि जिल्ला अध्यक्ष दिलबहादुर सिंहले ४७ मत र अजूर्न थापाले २४ मत प्राप्त गरेका थिए । एमालेले कम मत प्राप्त गर्ने थापालाई टिकट दिएको भन्दै अध्यक्ष समर्थक कार्यकर्ताहरु रुष्ट भएका हुन् ।
अन्तिम समयमा फेरिए एमालेका उम्मेदवार
सोलुखुम्बुमा अन्तिम समयमा आएर एमालेले उम्मेदवार परिवर्तन गरेको छ । एमालेका जिल्ला अध्यक्ष मानविर राइले अन्तिम समयमा आएर प्रदेशसभा तर्फ उम्मेदवार बन्न अस्वीकार गरेपछि एमालेले प्रदेशसभाका लागि उम्मेदवार हेरफेर गरेको हो ।
ओखलढुंगामा कांग्रेसका बागी
ओखलढुंगामा कांग्रेस जिल्ला सभापति प्रदीप सुनुवारविरुद्ध तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दाली वागी उम्मेदवार भएका छन् । प्रदेशसभा ‘ख’मा पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध रुम्दालीले बागी उम्मेवारी दिएका हुन्। अर्कै क्षेत्रका सुनुवार ‘ख’मा आएर उम्मेदवार बनेको र टिकट वितरणमा अन्याय भएको भन्दै उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
रुम्दाली ०७४ को संविधानसभा चुनावमा पनि बागी उम्मेदवार भएर करीव ३ हजार मत ल्याएका थिए । रुम्दाली तरुण दल ओखलढुंगाका जिल्ला अध्यक्ष समेत हुन् ।
काँग्रेस गठबन्धनको रसुवामा विवाद
मंसिर १० को चुनावमा रसुवा र गोरखामा कांग्रेस तथा नयाँ शक्तिले चुनावी तालमेल गरेका छन् ।
कांग्रेसले गोरखा दुई र रसुवामा नयाँ शक्तिलाई सहयोग गर्ने निर्णय गरेको थियो । कांग्रेसले गोर्खामा डा बाबुराम भट्टराईलाई सघाउने र प्रदेशसभा तर्फ रसुवाको ख निर्वाचन क्षेत्रमा मात्रै नयाँ शक्तिलाई सघाउने निर्णय गरेको जनाएको छ । सोही अनुसार कांग्रेसले रसुवामा प्रतिनिधिसभा तर्फ मोहप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ ।
तर नयाँशक्तिले भने रसुवामा पनि काँग्रेसले आफ्नो उम्मेदबारलाई सघाउनु पर्ने सहमती भएको दावी गरेको छ ।