१० मंसिरको निर्वाचनका लागि ८०२ जनाको उम्मेदवारी

आगामी १० मंसिरमा ३२ जिल्लामा हुने पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार ८०२ जनाले मनोनयन दर्ता गरेका छन् । निर्वाचन आयोगले आइतबारको उम्मेदवार मनोनयन दर्ता कार्यक्रम शान्तिपूर्ण र व्यापक जनसहभागितामा सम्पन्न भएको जनाएको छ ।

पछिल्लो विवरणअनुसार प्रतिनिधिसभातर्फ ३२० र प्रदेशसभातर्फ ४८२ गरी जम्मा ८०२ जनाको उम्मेदवारी दर्ता भएको आयोगको केन्द्रीय कार्यालयमा रहेको संयुक्त निर्वाचन संचालन केन्द्र ९जेइओसी० ले जनाएको छ ।

गठबन्धनलाई चुनौती दिदै अधिकांश स्थानमा वागी उम्मेद्वार

जाजरकोटमा वामपन्थी गठबन्धनका साझा उम्मेदवार माओवादी नेता शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेको जित्ने निश्चित भएको ठाउँमा माओवादीलाई छाडेको भन्दै एमाले नेता शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । माओवादी नेता एवं पूर्वगृहमन्त्रीसमेत रहेका बस्नेत जाजरकोटमा एमाले-माओवादीका साझा उम्मेदवार हुन् ।

तर, राप्रपाको महामन्त्री छाडेर एमालेमा प्रवेश गरेका शाहले यसपटक टिकट पाउने अपेक्षा गरेका थिए । एमालेले माओवादीलाई सघाएपछि शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । शाह जिल्लामा सामान्य जनाधार भएकै पूर्वपञ्च मानिन्छन् । उनले ०५६ सालमा राप्रपाबाट सांसद जितेका थिए । जाजरकोटमा प्रतिनिधिसभा शक्ति बस्नेतलाई छाडेर प्रदेशसभाको दुवै सिट पाएको एमालेले उम्मेदवारी दर्ता गरिसकेपछि प्रदेश (क) माओवादीलाई छाड्ने सहमति भएको छ । यसबाट एमालेभित्र भाँडभैलो मच्चिएको छ ।

एमालेका युवा नेता निरज आचार्यलाई उम्मेवारी फिर्ता लिन निर्देशन गएपछि कार्यकर्ताले विद्रोहको चेतावनी दिएका छन् । प्रदेश (क) मा एमाले र माओवादी दुबै दलका छुट्टै उम्मेदवारी परेको छ । साझा उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका तर्फबाट आचार्यले बागी उम्मदेवारी दिएका हुन् ।

यता रामेछापमा वामपन्थी गठबन्धनका साझा उम्मेवार विरुद्ध माओवादी केन्द्रका तीन नेताले बागी उम्मेदवारी दर्ता गरेका छन् । टिकट वितरणमा असन्तुष्टि जनाउँदै पूर्वसभासद लक्ष्मी गुरुङ र जिल्ला सेक्रेटरी रहिसकेका मैनकुमार मोक्तानसहितले विद्रोह गरेर बागी उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभामा माओवादी नेता तथा गृहराज्यमन्त्रीबाट बिना विभागीय बनेका श्यामकुमार श्रेष्ठको उम्मेदवारी विरुद्ध पूर्वसभासद लक्ष्मी गुरुङले वागी उम्मेदवारी दर्ता गर्नुभएको हो । गुरुङ पहिलो संविधानसभामा समानुपातिक सभासद हुनुभएको थियो भने ०७० मा प्रत्यक्ष उम्मेदवार बनेर कांग्रेसका आङटावा शेर्पासँग पराजित हुनुभएको थियो ।

यस्तै प्रदेशसभातर्फ (क) मा माओवादी जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकास बागी उम्मेदवार बन्नुभएको छ । सो क्षेत्रमा एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेल साझा वामपन्थी उम्मेदवार छन् । त्यसै गरी प्रदेश (ख) मा माओवादी नेता मैनकुमार मोक्तान बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा एमालेका नेता कैलाश ढुंगेल साझा वामपन्थी उम्मेदवार छन् ।