ठमेलमा सवारी–साधन प्रवेशमा रोक, एसियाकै सुन्दर बनाउने लक्ष्य

पर्यटकीय नगरी काठमाडौंको ठमेलमा यातायातका साधन प्रवेशमा कडाइ गरिएको छ । यातायातका साधनको भीड र चर्को हर्नका कारण पर्यटक प्रभावित हुनुका साथै ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएपछि सवारी–साधन प्रवेशमा कडाइ गरिएको हो । पर्यटकको राजधानीकोरुपमा रहेको काठमाडौंको ठमेलमा यातायातका साधनको चाप बढेसँगै त्यस क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि ठमेल पर्यटन विकास परिषदले सवारी–साधन प्रवेशमा कडाइ गरेको हो ।

साँघुरो बाटो, यातायातका साधनले बजाउने चर्को हर्नले त्यहाँ घुम्न आउने पर्यटकमा नकारात्मक असर पर्नथालेपछि परिषदले त्यस क्षेत्रमा सवारी–साधन प्रवेशमा कडाइ गर्ने निर्णय गरेको हो । ठमेल क्षेत्रमा फुटपाथकोसमेत राम्रो व्यवस्था नहुँदा त्यहाँ घुम्न पुग्ने पर्यटकलाई समस्या पर्दै आएको छ ।

ठमेल पर्यटन परिषदका अध्यक्ष समिर गुरुङले ठमेललाई एसियाकै सुन्दर, शान्त बनाउने लक्ष्य राखिएको बताए । अध्यक्ष गुरुङले ठमेलमा आउने पर्यटकलाई निर्धक्क हिँड्डुल गर्ने वातावरण बनाउन यातायातका साधन प्रवेशमा रोक लगाइने बताए । उनले ठमेलमा भएका होटल, घरधनी, खानेपानी ढुवानीलाई आवश्यकताअनुसार व्यवस्थापन गरिने जानकारी दिए ।

ठमेल भित्रने सवारी–साधन पार्किङका लागि आवश्यक व्यवस्थापन गरिएको छ । सुन्दर नगरी ठमेलमा अनावश्यक देखिएका बिजुलीका तार, जथाभावी राखिएका होडिङबोर्ड पनि हटाएर नमुना ठमेलकोरुपमा विकास गरिने उनको भनाइ छ । काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नागरिक समाज र स्थानीय क्लबको पहलमा भएको यो कामलाई स्थानीयबासिन्दाले पनि सकरात्मकरुपमा लिएका छन् ।

उनीहरुले ठमेलमा सुधार गर्नुपर्ने धेरै कुरा रहेको भन्दै शान्त र सुन्दर बनाउन सबैको दायित्व भएकोमा जोड दिए । विश्वका पर्यटक घुम्ने बजारकोरुपमा रहेको ठमेलमा यत्रतत्र छरिएका बिजुलीको तार, जथाभावीका होर्डिङबोर्ड र ढलको समस्याले ठमेललाई कुरुप बनाएको उनीहरुको भनाइ छ ।