नेइमार पिएसजीका मेसी !

ब्राजिलियन फुटबल स्टार नेइमार फुटबल क्लब बार्सिलोनमा रहँदा पनि उत्कृष्ट लयमै थिए । तर लियोनल मेसी र लुइस स्वारेजजस्ता स्टार खेलाडीको छाँयामा नेइमार परेको भनेर टिकाटिप्पणी त्यसबेला पनि हुने गथ्र्यो, नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि पनि हुने गरेको छ ।

त्यसो त उनी फ्रेन्च क्लब पिएसजीमा पनि एडिन्स्न काभानी र एमबाप्पेजस्ता स्टार खेलाडीहरुसँगै खेलिरहेका छन् । नेइमारले बार्सिलोना छोडेर पिएसजी जानुको एक मात्रै कारण उनमा भएको विश्वको महान खेलाडी बन्ने सपना हो भनेर फुटबलका पण्डितहरुले भन्दै आएका छन् ।

पिएसजीका म्यानेजर उनाई एमेरीले नेइमारले आफ्नो खेललाई सुधार्दै पिएसजीको वातावरणमा घुलमिल हुनुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘नेइमारले पिएसजीको शैलीमा खेल्नलाई अझै केही समय टिमका अन्य खेलाडीसँग बिताउनु पर्नेछ, उनलाई हाम्रो खेलशैली पछ्याउन केही समय लाग्नेछ ।’ पिएसजीका प्रशिक्षक एमेरीले नेइमारले विरोधीहरुको आक्रमण र विरोधको समना गरेर अगाडि बढ्नुपर्ने पनि बताएका छन् ।

‘उनी नेइमार हुन्, उनी प्रतिभावान छन् । हामीले उनको प्रतिभालाई निखार्नका लागि सबै उपाय अपनाउँछौँ । हामीले उनको भिडियोमार्फत उनले के सुधार्न सक्छन् भन्ने हेरिरहेका छौँ । उनको लागि कुन पोजिसन राम्रो हुन्छ भन्ने कुराको पनि हामी मुल्यांकन गरिरहेका छौँ’, फ्रेन्च लिग विजेता पिएसजीका प्रशिक्षक एमेरीले बताए ।

एमेरीले भने, ‘नेइमार एक महान खेलाडी हुन्, उनी नेइमारजस्तै खेल्छन् ।’ नेइमारले बार्सिलोनाबाट पिएसजीमा गएपछि अहिलेसम्म नौ गोल र नौ असिस्ट गरेका छन् । उनी कीर्तिमानी २सय २२ मिलियन युरोमा पिएसजी गएका थिए । एमेरीलाई नेइमार ‘पिएसजीका लियोनल मेसी’ हुन कति समय लाग्ला भनेर प्रश्न गरिएको थियो । यो प्रश्नमा एमेरीले भने, ‘उनी नेइमार हुन्, उनी विश्वकै महान खेलाडी बन्ने बाटोमा छन् ।’