टिकट लेनदेनमा राजनीतिक बिचौलियाको बिगबिगी

कास्कीका एक जग्गा व्यवसायी प्रदेशको उम्मेदवार बन्न कांग्रेसका सबैजसो नेताका ढोका धाइसके। तै पनि उनलाई भरोसा भएन। त्यसैले अचेल उनी राजनीतिक बिचौलियाकहाँ धाइरहेका छन्। ती बिचौलियाले टिकट मिलाइदिने भन्दै मोटै रकम मागेका छन्। ती व्यवसायी टिकट पाए मागेजति दिन तयार छन्।

कास्कीकै अर्का पात्र छन् म्यानपावर व्यवसायी। जो उम्मेदवार हुन जतिसुकै रकम खर्चन तयार रहेको भन्दै नेताहरुलाई प्रभावित बनाउन सक्रिय छन्। यही देखेर हुनसक्छ, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेविसंघले आयोजना गरेको कार्यक्रममै पैसाको राजनीतिले लोकतन्त्रलाई समाप्त पार्ने बताए।

उनले भने, ‘चुनावमा कमभन्दा कम पैसा खर्च गर्नेतिर प्रणाली विकसित गर्न सक्नुपर्छ। नत्र पैसाले इमान्दार, निष्ठावान नेता-कार्यकर्तालाई मात्रै होइन, लोकतन्त्रलाई नै समाप्त पार्छ।’ यतिबेला कांग्रेस, एमाले, माओवादी केन्द्रसहित ठूलासाना सबै दलमा टिकटको चटारो छ। समानुपातिक उम्मेदवारीको बन्दसूची असोज २९ मा बुझाइए पनि प्राथमिकतामा अघि पर्न विभिन्न दबाब र प्रभाव पार्ने काम अझै जारी छ। यही बीचमा राजनीतिक बिचौलियाहरु र पैसामा टिकट किन्नेहरु निकै सक्रिय छन्।