राष्ट्रसंघ मानवअधिकार परिषद सदस्यमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ ।अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न निर्वाचनबाट नेपाल सदस्य पदमा विजयी भएको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । नेपाल सन् २०१८ देखि २०२० सम्म तीन वर्षका लागि मानवअधिकार परिषद्मा सदस्य बनेको हो । सन् २००६ मा मानवअधिकार परिषद् बनेयता पहिलोपटक नेपाल राष्ट्रसंघ मानवअधिकार परिषद् सदस्य बनेको हो ।
यद्यपि, संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चआयोग रहँदा सन् १९९३ र २००३ मा गरी दुईपटक नेपाल आयोग सदस्यमा निर्वाचित भएको थियो ।

एसिया प्यासिफिक ग्रुपबाट नेपालसँगै कतार, पाकिस्तान र अफगानिस्तान परिषद् सदस्यमा विजयी भएका छन् । निर्वाचनमा मलेसिया पराजित भएको छ ।परराष्ट्रसचिव शंकरदास बैरागीले नेपालले मानवअधिकार परिषद् सदस्यमा जित्नु गौरवको विषय भएको बताए ।

‘एसिया प्यासिफिक ग्रुपमा सबैभन्दा बढी मत पाएर मानवअधिकार परिषद् सदस्यमा हामी विजयी भएका छौं । यो हाम्रो बहुपक्षीय कूटनीतिमा महत्वपूर्ण उपलब्धि हो । आगामी दिनमा मानवअधिकारका क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा अझ बढी काम गर्न मौका प्रदान गर्नेछ’ सचिव बैरागीले भने ।

उनले नेपालले मानवअधिकार प्रवद्र्धनका क्षेत्रमा अन्तर्राष्ट्रिय र घरेलु तहमा गरेका काम, प्रयास र प्रतिबद्धताको परिणामस्वरूप मानवअधिकार परिषद् सदस्यमा नेपाल निर्वाचित भएको प्रतिक्रिया दिए । उनले अब नेपालले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य बन्न प्रयास गर्ने बताए । परिषद् सदस्यमा विजय सुनिश्चित गर्न न्युयोर्क र जेनेभास्थित राष्ट्रसंघ हेर्ने नेपाली नियोगमार्फत राष्ट्रसंघ सदस्य मुलुकसँग केही समययता नेपालले विभिन्न मुलुकसँग लबिङ गरेको थियो ।

परिषद् निर्वाचनमा विजयी हुने एसिया प्यासिफिक ग्रुपबाट नेपालबाहेक अन्य सबै मुस्लिम मुलुक छन् । संयुक्त राष्ट्रसंघको न्युयोर्कमा जारी ७२ औँ महासभाका क्रममा मानवअधिकार परिषद् सदस्यका लागि निर्वाचन भएको हो । परराष्ट्र मन्त्रालयले मावअधिकार परिषद् सदस्यका लागि दुई वर्षअघि उम्मेदवारी दिएको थियो । त्यसयता समय-समयमा भएका द्विपक्षीय तथा बहुपक्षीय फोरममा नेपालले परिषद् सदस्यका लागि विभिन्न मुलुकसँग आग्रह गर्दै आएको थियो ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले चार महिनाअघि भारत भ्रमणका क्रममा नयाँदिल्लीबाट नेपाल मामिला हेर्ने विदेशी राजदूतसँग अन्तरक्रिया गरी नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न आह्वान गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रसंघको ७२ औँ महासभाका क्रममा न्युयोर्कमा सम्बोधन गर्दै नेपाललाई मानवअधिकार परिषद् सदस्यमा समर्थन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए ।