बाहिरियो माओवादी केन्द्र सरकारबाट

नेकपा (माओवादी) केन्द्रले मंगलबार सरकार छोड्ने भएको छ । सरकारबाट बाहिरएको औपचारिक घोषणाका लागि माओवादीतर्फबाट नेतृत्व गरेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

यस्तै गृहमन्त्री जनार्दन शर्माले दिउँसो २ बजे मन्त्रालयमा पत्रकार सम्मलेन आयोजना गरेको उनका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिइन् । पछिल्लोपटक प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबाट मन्त्री थपेर सरकार विस्तार गरेपछि माओवादीलाई सरकार छाड्ने नैतिक दबाब परेको हो । गत शुक्रबार प्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित ८ जनालाई मन्त्रिपरिषद्‌मा थप गरेका थिए ।

मंगलबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि समसामयिक विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीसँगको छलफलपछि दाहाल आफ्ना मन्त्रीहरुलाई सरकार छोड्ने लगाउने मुडमा पुगेको बुझिएको छ । माओवादीले नछाडे उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई बिनाविभागीय बनाउने देउवाको तयारी थियो ।