क्रान्तिका महानायक ‘ चे ग्वेभारा’ हत्याको ५० वर्ष

सम्झनामा क्यूबाली क्रान्ति..…

क्यूबाली क्रान्तिका महानायक चे ग्वेभाराको हत्या भएको आज ५० वर्ष पुग्याे । विश्वका उत्पीडित जनताहरुको मुक्तिका लागि क्रान्ति र संघर्षको प्रतिक बनेका चे ग्वेभारा मानव इतिहासमा साहसी र क्रान्तिका महानायककाे रूपमा चिनिन्छन् । उनको सम्झनामा क्यूबामा हजारौं मानिसहरु सडकमा ओर्लिएका छन् । सान्टा क्लारामा राष्ट्रपति राउल क्यास्त्रोले पनि उनलाई सम्झिदै गहिरो दुःख व्यक्त गरे । यस्तै ल्याटिन अमेरिकाका अरु देशमा पनि हजारौंले चे को सम्झना गरेको अन्तर्राष्ट्रिय मिडिया एजेन्सीले जनाएका छन् ।

गुरिल्ला योद्धा चे ग्वेभाराको जन्म १४ जुन १९२८ मा अर्जेन्टिनाको रोजारियामा भएको थियो । एक मध्यम वर्गिय शिक्षित परिवारमा जन्मेका उनलाई क्रान्तिप्रतिको चतना र उत्प्रेरणा उनका पिताबाट मिलेको थियो । उनका बाबु अर्जेन्टिनाका निरङ्कुश शासक पेरोका बिरोधी थिए । उनी भुमिगत लडाइ लड्ने सङ्गठनसँग पनि आवद्ध थिए ।आमा उनकी आमा पनि निङ्कश शासक पेरो बिरोधी प्रदर्शनमा भाग लिँदा दुईपटकसम्म गिरफ्तारीमा परेकी थिइन् । चे सानै देखि चिकित्सक बन्ने सपना पालेका थिए ।

नभन्दै उनले चिकित्सक डिक्री हासिल गरे ।दुःखी गरिब जनाता तथा देशमाथि अमेरिकी र विश्व साम्राज्यवादको नाङ्गो हस्तक्षेपले उनलाई बन्दुक समाउन बाध्य बनायो । निरङ्कश शासकहरुले आम जनातालाई दिएको दुःखकष्टले उनलाई सेतो कोटभन्दा भरुवा बन्दुक प्यारो लाग्याे र विश्व मुक्तिको रंगभूमि हाम फाले । उनले फिडेल क्यास्ट्रोसँग मिलेर बाटिस्टा शासनविरुद्ध मोर्चा कसे र क्युवालाई मुक्त गरेरै छाडे । युद्धका क्रममा उनी घाइतेको उपचार गर्थे । उनी मक्ति मोर्चाका कमान्डर थिए । चे भन्थे, ‘क्रान्तिकारी राजनेताले साधुको जीवन बिताउनुपर्छ, आडम्बरहीन भएर बाँच ।समाजवादमा पुँजीवादी वातावरण सिर्जना गर्ने प्रयास नगर ।’ क्युवाको मुक्तिपछि उनी क्युबाको नेसनल ब्याङ्कको गभर्नर, भुमिसुधार मन्त्रीको पद छोडेर बोलिभियाको निरङ्कुश सत्ताकाविरुद्ध मोर्चा तयार गरे ।

उनले क्युबामा क्रान्ति हुनुपूर्व नै फिडेल क्यास्ट्रोसँग सर्त राखेका थिए, ‘क्युबामा क्रान्ति सम्पन्न भएपछि कुनै पनि बहानामा मलाई यहाँ रोकिने छैन र मैले भन्नासाथ मलाई दक्षिण अमेरिकामा क्रान्ति सम्पन्न गर्नका लागि जान दिनुपर्छ’ । उनलाई क्युवाको मानसम्मान र ओहोदाले रोक्न सकेन र सर्तबमोजिम उनी बोलिभियाको क्रान्तिका लागि बाटो लागे ।

२७ जनाको डफ्फासहित बोलिभियाको जङ्गलमा गुरिल्लायुद्ध लड्न पुगेका चे अन्तमा एकजना विश्वसघाती किसानका कारण शत्रुको घेरामा परे । अमेरिकी सि.आइ.ए. एजेन्टमार्फत तालिमप्राप्त रेन्जरका आधा दर्जनभन्दा बढी गोलीबाट सन् १९६७ अक्टोबर ९ का दिन उनको हत्या भयो । उनकाे हत्याले उनकाे महानतालार्इ मार्न सकेन । उनका विचार, उनले देखाएकाे मुक्तिकाे बाटाे ५० वर्षपछि पनि उत्तिकै ताजा, विश्वभर झन सशक्त रूपमा फैलिएकाे छ । चे एक अन्तर्राष्ट्रियवादी क्रान्तिका महानायक हुन । उनको सम्झना र सम्मान सधै शिर झुकिरहने छ । नयाँ पत्रिकाबाट