ठोस सहमति विना नै टुंगियो नेपाल–भारत प्रबुद्ध समूहको बैठक
नेपाल र भारतबीच गठित प्रबुद्ध समूह (ईपीजी)को बैठक सम्पन्न भएको छ । काठमाडौंमा शनिबार र आइतबार भएको पाँचौं बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाम, यसअघि दुई देशबीच गरिएका सन्धि–सम्झौताको पुनरावलोकनलगायत विषयमा छलफल भयो ।
यद्यपि, कुनै विषयमा पनि ठोस सहमति भने बनिनसकेको नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापाले बताए । बैठकमा भारतीय पक्षले सीमा नियमन ब्यवस्थित गर्न चेक प्वाइन्टहरुमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ । बैठकमा सुरक्षा, जलस्रोत, द्विपक्षीय जनजीवनका बारेमा प्रशस्त छलफल भएको डा. थापाले बताए ।
समूहका अर्का सदस्य सूर्यनाथ उपाध्यायले दुई देशबीच जलस्रोतको सहयोग एवं उपयोगका सम्बन्धमा छलफल भएको सकारात्मक रहेको जानकारी दिए । सीमा नियमनका बारेमा पनि समग्रतामै छलफल भइरहेको अर्का सदस्य डा. राजन भट्टराईले जानकारी दिए । नेपाली पक्षले निकै जोड दिएको सन् १९५० को मैत्री सन्धि पुनरावलोकनका विषयमा भने यस पटक खासै धेरै छलफल भएन । अर्को बैठक आगामी नोभेम्वरको ११ र १२ मा भारतको नयाँ दिल्लीमा गर्ने निर्णय गरिएको छ ।
बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई थिए । भगतसिंह कोसियारीको नेतृत्वमा रहेको भारतीय पक्षको अरु सदस्यमा डा. बिसी उप्रेती र महेन्द्र पी लामा थिए । पूर्व राजदूत जयन्तप्रसाद भने अस्वस्थ भएकाले उपस्थित भएनन् ।नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुबै मुलुकले प्रबुद्ध व्यक्ति समूह गठन गरेका हुन् ।