वैद्य नेतृत्वकाे क्रान्तिकारी माओवादी भित्र दुई धार

राष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा नेकपा (क्रान्तिकारी माओवादी) भित्र दुई धार देखिएको छ । तत्कालीन जनयुद्धमा सहभागी र एकता प्रक्रियाबाट आएको समूहबीच जनयुद्ध र माओवादलाई लिएर मत बाझिएको हो । राष्ट्रिय सम्मेलनमा छलफलका लागि पार्टी केन्द्रीय कमिटीले पारित गरेको राजनीतिक दस्तावेज र आन्तरिक बहसमा एकता प्रक्रियाबाट आएका तत्कालीन नेकपा एकीकृतका नेताहरूले जनयुद्धको विषयमा फरक मत राखेका छन् ।

नेता रामसिंह श्रीषले छलफलका लागि तयार पारिएको दस्तावेजमा ‘जनयुद्धको सिंहावलोकनमा फरक मत’ भन्दै एक पृष्ठ फरक मत राखेका हुन् । नेता श्रीषले जनयुद्ध सही समयमा नभएको भन्दै फरक मत राखेका छन् । उनले जनयुद्धलाई सही भए पनि जनयुद्धको थालनीको अवस्थाबारे प्रश्न उठाएका छन् । ‘जनयुद्धको थालनी जुन अवस्था र जुन प्रकारले भयो, त्यो थालनी सशस्त्र संघर्षसम्बन्धी मालेमावादी दृष्टिकोणबाट भन्दा पनि ब्लांकी र चेग्वेभराको दृष्टिकोणबाट भयो भन्ने कुरा प्रतिवेदनमा उल्लेख गर्नुपर्छ,’ उनले राखेको फरक मतमा भनिएको छ ।

सशस्त्र संघर्षको विषयमा माक्र्सका पालादेखि नै दुई दृष्टिकोण रहेको भन्दै उनले माक्र्स, एंगेल्स, स्टालिन र माओले अपनाएको दृष्टिकोण र चे ग्वेभराहरूको दृष्टिकोण रहेको भन्दै नेपालमा चे ग्वेभराहरूको जस्तो सशस्त्र संघर्ष भएको उनले बताएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।