कसरी संभव छ वाम गठबन्धनकाे नेतृत्व व्यवस्थापन ?

प्रमुख प्रतिपक्षी नेकपा एमाले, सत्तारुढ दल नेकपा माओवादी केन्द्र तथा नयाँ शक्ति पार्टीका नेताहरूले राजधानीमा चुनावी गठनबन्धन हुँदै पार्टी एकताको प्रक्रिया सुरु भएको घोषणा उत्साहका साथ गरे पनि यसलाई कसरी मूर्त रूप दिने भन्ने विषय निकै चुनौतीपूर्ण छ । आजको नागरिक दैनिकमा खबर छ–प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावका लागि तालमेलबाट सुरु भएको वामपन्थी गठबन्धन नटुट्ने नेताहरूको घोषणा लागू गर्न त्यति सहज छैन । नेपालको राजनीतिमा वामपन्थी एकताको प्रयास विगतमा पनि नभएका होइनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार गठन हुँदाको समय पनि एमाले र माओवादी केन्द्रबीच दीर्घकालीन सहकार्यका लागि गठबन्धन गरिएका दाबी दुवै दलका नेताहरूले गरेका थिए । तर त्यो एक वर्ष पनि टिक्न सकेन ।

आगामी दिनमा एकता अघि बढ्छ कि बढ्दैन भन्नेमा वैचारिक धार, एमालेभित्र माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्राप्त गर्ने हैसियत, एमाले र माओवादीभित्र नेतृत्वको व्यवस्थापन, फरक स्कुलिङको व्यवस्थापन आदि चुनौतीका रूपमा देखिनेछन् । ‘दुवै दलबीचको एकता प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषय कस्तो सैद्धान्तिक आधार निर्माण गर्न सक्छौं त्यसले निर्धारण गर्छ,’ माओवादी केन्द्रका नेता राम कार्कीले भने, ‘फरक पृष्ठभूमिका दलहरूबीच सम्भावित वैचारिक विषयलाई समान बनाउन चुनौतीपूर्ण छ ।त्यसपछि संगठनात्मक व्यवस्थापनको विषय आउनेछ ।’

सशस्त्र द्वन्द्वबाट आएको माओवादी, शान्तिपूर्ण राजनीतिबाट समाजवाद पुग्ने लक्ष्य लिएको एमाले र फरक प्रकारको राजनीतिका लागि गठन गरिएको नयाँ शक्ति पार्टी एउटै राजनीतिक धारमा आउने प्रक्रियामा लागेका छन् ।
माओवादी र एमाले करिब ४० वर्षदेखि फरक स्कुलिङबाट अघि बढेका छन् । २०२५ सालमा मोहनविक्रम सिंहले पुष्पलाल श्रेष्ठसँग विद्रोह गठन गरेको पार्टीबाट नेकपा चौम (चौथो महाधिवेशन), नेकपा मसाल हुँदै माओवादी दस वर्ष सशस्त्र संघर्ष गर्दै शान्तिपूर्ण राजनीतिमा आएको हो ।

पुष्पलालबाट विद्रोह गरेको अर्को समूह झापाको सशस्त्र विद्रोहबाट नेकपा माले हुँदै नेकपा एमाले भएको हो । एमालेले २०४६ सालको बहुदलीय व्यवस्थाको पुनस्र्थापनदेखि नै शान्तिपूर्ण माध्यमबाट समाजवादमा पुग्न सकिने भन्दै संसदीय राजनीति गर्दै आएको छ । तत्कालका लागि चालीस र साठी प्रतिशतको भागबन्डाले चुनावसम्मको बाटो सहज बनाए पनि त्यसपछि सहकार्यको सूत्र के हुने स्पष्ट छैन ।

‘नयाँनयाँ प्रयोग गरेर शक्तिमा रहिरहने पुष्पकमल दाहालले गठबन्धनका लागि उत्साहित बनाएको हुन सक्छ । एमालेलाई पनि प्रमुख प्रतिस्पर्धीका रूपमा रहेको कांग्रेसलाई उछिन्न माओवादीसँग गठबन्धन आवश्यक छ,’ राजनीतिक विश्लेषक झलक सुवेदीले भने, ‘वामपन्थी दलहरूबीच एकीकृत पार्टी बनाउने विषय निकै चुनौतीपूर्ण छ । अहिले जे प्रयास भएको त्यसमा नकारात्मक टिप्पणी आवश्यक छैन ।’

देशभित्र वामपन्थीको मत अत्यधिक हुँदाहुँदै पनि चुनावमा नेपाली कांग्रेसको वर्चस्व हुँदै आएको छ । यसपटकको स्थानीय तहको चुनावमा पनि बढी स्थानीय तहको प्रमुखमा एमालेले जिते पनि समग्रमा अध्यक्षको मतमा कांग्रेस अगाडि छ । दुवै दलबीच एकताका लागि एमालेको सिंगो नेतृत्व पङ्क्तिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई अध्यक्ष ओलीको विकल्प नेताका रूपमा स्वीकार्छ वा स्वीकार्दैन त्यसमा निर्धारण रहनेछ ।

त्यसैगरी माओवादीबाट आउने नेताको व्यवस्थापनको कसरी हुन्छ, त्यसमा भविष्य निर्धारण हुनेछ । किनभने एमालेभित्र नेतृत्व व्यवस्थापनको विषय निकै चुनौतीपूर्ण छ । ओलीले पनि तीन वर्षअघि नेतृत्वको व्यवस्थापनको विषयलाई महाधिवेशको मुद्दा बनाएका थिए । एमालेभित्र प्रधानमन्त्री र पार्टी नेतृत्व गरिसकेका झलनाथ खनाल र माधवकुमार नेपाल मात्रै नभएर नभएर शीर्ष नेतृत्व लिनका लागि दोस्रो तहका नेताहरू तयार छन् ।
संसदीय राजनीतिमा अनुभवी एमालेको जिल्ला तहका नेताहरूसँग माओवादीबाट आउने नेताहरूलाई एकदुई जिल्लामा बाहेक टिक्न कठिन हुनेछ ।

किनभने पछिलो समयमा पार्टीहरूको संरचना पिरामिड जस्तो भएर मादलको आकार बन्न पुगेका छन् । अर्थात् नयाँ व्यक्तिहरूको पार्टी राजनीतिमा प्रवेश कम, मध्यम स्तरको कार्यकर्ता बढी र नेतृत्वमा थोरै अवसर पाउन थालेका छन् ।
२०४७ मा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादीबीच एकीकरण हुँदा दुवै दलले जिल्ला तहमा समेत बराबरी हैसियत प्राप्त गरेका थिए । तर अहिले एमालेभित्र माक्र्सवादीबाट आएका नेताहरू एकदुईजनाबाहेक राजनीतिमा टिक्न सकेका छैनन् ।

माओवादीका अध्यक्ष दाहालले एमालेका नेताहरुको अनौपचारिक कुराकानीमा एमालेको संगठन संरचना र कार्यकर्ता पङ्तिmप्रतिको आकर्षण व्यक्त गर्दै आएका छन् । एमालेजस्तो कार्यकर्ता पङ्क्ति आफ्नो साथमा भए कम्तीमा तीस वर्ष एकछत्र शासन गर्ने दाबी दाहालको छ । एमालेसँग गठबन्धनको माध्यमबाट दाहालले त्यो अवसरको ढोका खुल्ने आवसर देखेका हुन सक्छन्