फेरि कम्युनिस्ट भए बाबुराम सूर्य चिन्हमा चुनाव लड्ने

नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई सूर्य चिन्हमै चुनाव लड्ने भएका छन् । यसअघि गोरखाबाटै चुनाव लड्ने घोषणा गरेका भट्टराईले एकता प्रक्रिया सुरुसँगै सूर्य चिन्ह लिएरै चुनाव लड्ने घोषणा गरेका हुन् । “बाबुराम भट्टराईको नयाँ शक्ति सूर्य चिन्हमा नै चुनाव लड्छ,” घोषणा सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, “अरु साथीहरु पनि चुनाव लड्नेतर्फ अघि बढिरहनुभएको छ । यो क्रम अघि बढ्छ ।”

तर बाबुराम भट्टराईले भने समारोहमा यसबारेमा केही बताएनन् । कार्यक्रममा नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले समुन्नत समाजतर्फ लैजान बामपन्थी दलहरु एक हुन लागेको बताए । मुलुकको आवश्यकता र विकसित विचारअनुसार मुलुक अगाडि बढाउन चुनावी तालमेल गरिएको उनको भनाई थियो । आशन्न निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारीको आवश्यकता पूर्ति गरिने संयोजक भट्टराईले बताए ।

उनले नेपालको इतिहास नयाँ चरणमा प्रवेश गरेको बताए । उनले समृद्ध समाजवादको चरणमा मुलुक प्रवेश गरेको बताउँदै आगामी निर्वाचनपछि त्यो पूरा हुने बताए । यसमार्फत राष्ट्रिय एकता कायम गरेर अघि बढ्नुपर्ने उनको भनाई थियो । उनले नेपालका सम्पूर्ण कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा यो शक्तिको दुईतिहाई बहुमत आउने बताउँदै त्यसपछि प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान सहज हुने बताए ।

संविधान जारी भएपछि नेकपा माओवादी केन्द्र परित्याग गर्दै नयाँ शक्ति पार्टी गठन गरेका भट्टराईले नयाँ शक्तिबाट धेरै नेताहरु अलग भएपछि यस्तो निर्णय लिएका थिए ।