एमाले, माअाेवादी र नयाँ शक्ति एकैठाउँमा, एउटै कम्युनिस्ट केन्द्र बनाउने सहमति

एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालले आसन्न प्रदेश र संघको चुनावपछि एउटै कम्युनिस्ट पार्टी निर्माण गर्ने ६ बुँदे सहमति गरेका छन् । उम्मेदवार छनोट प्रक्रिया चलिरहेका वेला तीन दलले मंगलबार ६ बुँदे सहमति सार्वजनिक गरेर पार्टी एकीकरणको घोषणा गरेका हुन् । राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलनमार्फत नेताहरूले गठबन्धनमार्फत अबको निर्वाचनमा दुईतिहाइको उद्देश्य पूरा भएलगत्तै पार्टी एकीकरण गर्ने प्रतिबद्धता पनि जनाए । एकता र चुनावी गठबन्धनका लागि तीन दलका तर्फबाट आठ सदस्यीय ‘पार्टी एकता संयोजन समिति’ घोषणा गरिएको छ । समितिमा एमालेबाट चार, माओवादी केन्द्रबाट तीन तथा नयाँ शक्तिका तर्फबाट एकजना सदस्य रहने सहमतिमा उल्लेख छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका प्रमुख नेताका रूपमा रहने भनिए पनि सदस्यहरूको नाम भने सहमतिमा उल्लेख छैन । त्यस्तै, समितिको निर्णय सहमतिमा गर्ने, पार्टी एकता र संगठनात्मक एकताको विस्तृत खाका र कार्ययोजना समितिले नै तयार पार्ने सहमतिमा उल्लेख छ । वैचारिक छलफल तथा बहसद्वारा नेपाली क्रान्तिको सिद्धान्तलाई विकसित गर्दै लैजाने सहमतिमा भनिएको छ । 

‘एकता र तालमेल कसैविरुद्द परिलक्षित छैन’

एमाले, माओवादी केन्द्र र नयाँ शक्तिका नेताले पार्टी एकताको प्रयास र चुनावी तालमेल कसैविरुद्ध परिलक्षित नभई देशको आवश्यकता अनि जनताको आकांक्षाका आधारमा निर्माण भएको बताएका छन्। सहमतिपत्र घोषणासभामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले सम्मुनत समाजवादको दिशामा देशलाई अगाडि बढाउने उद्देश्यका साथ पार्टी एकीकरण र चुनावी तालमेलको प्रक्रिया अगाडि बढेको बताए।

 निद्राको ट्याबलेट बढी बिक्ला कि भन्ने डर छ – अाेली

एमाले अध्यक्ष ओलीले योे एकताबाट कोही कसैलाई पनि आतंकित नहुन आग्रह गरे। ‘मलाई डर छ, निद्राको ट्याबलेट बढी बिक्ला कि भन्ने, कसैले डराउनुपर्दैन’, उनले भने, ‘हाम्रो एकता देशलाई समृद्धिमा लैजान, सुशासन कायम गर्न, शान्ति–सुरक्षा कायम गर्दै भ्रष्टाचारमुक्त समाज निर्माणका लागि हो। मंसिरपछि काठमाडौंका सहरमा पुसमा राति पनि महिलाहरू ढुक्क भएर हिँड्न सक्ने गरी देशलाई अगाडि बढाउन हो। यस्तोमा पीर किन मान्ने ? ’

उनले एउटै कम्युनिस्ट पार्टी देश र जनताप्रति समर्पित भएकाले सबैको अनुहारमा मुस्कान ल्याउन एकताको प्रयास गरेको बताए। ‘हामीले देशलाई कता लैजान चाहन्छौं ? राष्ट्रको सार्वभौमसत्ता, स्वाभिमानलाई सुरक्षित राख्न चाहन्छौं, त्यसकै लागि एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौं भन्ने सन्देश दिने प्रयास गरेका हौं’, उनले भने। उनले विविधताभित्र पसेर धाजा फाट्ने प्रयास र काम भए पनि सफल हुन नसकेको उल्लेख गर्दै सामाजिक न्याय र समन्नुत नेपालका लागि अहिलेको प्रक्रिया अगाडि बढेको बताए। भूगोल, जात, पेसा, समुदायका आधारमा कसैमाथि पनि शोषण नहुने उनको भनाइ थियो।

उनले २०७४ सालमा ‘देशको जन्मकुण्डली’मै देशभक्त र वामपन्थीहरूको सरकार बन्ने कुरा लेखेको दाबी पनि गरे। उनले अब आफूहरूको ध्यान साधारण बहुमत नभई दुईतिहाइतिर रहेको बताए। छिमेक सम्बन्ध मैत्रीपूर्ण र बराबरीको हैसियतमा राख्न पनि अहिलेको एकता प्रक्रिया आवश्यक रहेको दलिल उनले पेस गरे।
‘संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएभन्दा एक शब्द पनि पर जाँदैनौं, पञ्चशीलको अवधारणाबाट एक शब्द पनि पर जाँदैनौं’, उनले भने, ‘स्वतन्त्र देशको हैसियतले छिमेक सम्बन्ध निर्माणका लागि पनि यो एकता आवश्यक भएको हो।’

उनले अहिले एकता संयोजन समिति मात्र बने पनि अझै धेरै मिहिनेत गर्नु बाँकी नै रहेको स्पष्ट पारे। ‘यो सुरुआत हो’, उनले भने, ‘नेपालमा अन्य आआफ्नो ताउलो बालेर बसेकाहरूले पनि ताउलो बसाल्न छोडेर यही अभियानमा आउन अपिल गर्छु।’ उनले एकता अभियानमा आउनेलाई सम्मान गर्ने उल्लेख गर्दै हिसाबभन्दा भावना र उद्देश्यमा आधारित भएर सोच्ने बताए। ‘अनेक पार्टी किन चाहियो ? आउनुहोस्, हामी सबै पार्टी मिलौं’, उनले भने। विगतमा ‘एउटा भूलचुक’ हुँदा पार्टी विभाजन भए पनि नटिक्ने भएपछि फेरि एकता भएको सुनाउँदै उनले अब भने विगतको जस्तो भूलचुक नहुने दाबी गरे।

 दाहाल भन्छन एकता कांग्रेसविरुद्ध होइन

माओवादी केन्द्रका अध्यक्ष दाहालले ऐतिहासिक आवश्यकता र आकस्मिकताको द्वन्द्ववादबाटै परिघटनाहरू अगाडि बढ्ने उल्लेख गर्दै राजनीति सम्भावनाको खेल भएकाले नयाँ सम्भावनाको ढोका खुलेको जिकिर गरे। उनले पार्टी एकीकरणको प्रयास र चुनावी तालमेल कसैविरुद्ध परिलक्षित नभई राष्ट्र र जनताको पक्षमा भएको जिकिर गरे। ‘एकता प्रयास र निर्वाचनमा तालमेल कसैका विरुद्ध परिलक्षित छैन’, उनले भने, ‘यो नेपाल राष्ट्र र जनताको पक्षमा, स्वाधीनता र समृद्धिको पक्षमा छ। यसबाट कोही पनि भ्रमित हुनुपर्दैन।’

उनले अहिले आफूहरूले पार्टी एकीकरण कम्युनिस्ट पार्टीहरूबीच र चुनावी तालमेल भने परिवर्तन पक्षधर सबैसँग सम्भव भएसम्म गर्ने भनेको पनि खुलाए। ‘पार्टी एकता कम्युनिस्टबीच र चुनावी तालमेल परिवर्तन पक्षधर सबै पक्षसँग हुन्छ’, उनले भने, ‘मधेसी दल तथा लोकतान्त्रिक पक्षधरसँग पनि तालमेलको विषय खुला रहेको घोषणा गर्छु।’
उनले २१औं शताब्दीमा नेपालबाट समाजवादको नयाँ मोडेल तयार पारेर विश्वलाई सन्देश दिने उद्देश्यले एकताको प्रयास भएको भन्दै यसमा कसैलाई पनि संकोच नमान्न आग्रह गरे। शान्ति प्रक्रिया र बृहत् शन्ति सम्झौतादेखि नै आफूले ‘निरन्तरतामा क्रमभंगता’को कुरा गर्दै आएको स्मरण गर्दै उनले अहिलेको एकता प्रयास पनि त्यही निरन्तरताको क्रमभंगता भएको बताए। उनले १० वर्षअघि नै पार्टी एकताका लागि दस्तावेज तयार पारे पनि परिस्थिति परिपक्व हुन नसक्दा अधुरै रहेको सुनाए। त्यही अधुरो काम अहिले पूरा गर्ने अभियानमा अगाडि बढेको उनको भनाइ थियो।

यस्ताे भन्छन भट्टराई

नयाँ शक्तिका संयोजक भट्टराईले सम्मुनत समाजवादको दिशामा अगाडि बढ्ने उद्देश्यका साथ एकीकरणको महसुस गरेको बताए। उनले इन्द्रधनुषरूपी बलियो राष्ट्रिय एकता कायम गर्ने, स्पष्ट बहुमत होइन, दुईतिहाइ ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय व्यवस्थामा संविधान संशोधन गर्ने गरी सहमति भएको बताए। ‘यो ऐतिहासिक परिघटना हो, यसले आगामी केही महिनाभित्रै बृहत् ध्रुवीकरण गरेर देशलाई नयाँ अध्यायमा लैजानेछ’, उनले भने।